कर्णाली प्रदेशमा नयाँ र पुराना दलबिच तीब्र प्रतिस्पर्धा
- काठमाडौंआगामी फागुन २१ गते देशभरका कुल १ सय ६५ क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुदैछ । निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल बढ्दैछ ।
सुर्खेत, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, जाजरकोट, सल्यान, रुकुम पश्चिम गरी कर्णाली प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा समान २/२ निर्वाचन क्षेत्र तोकिएका छन् भने अन्य आठ जिल्लामा एक/एक निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुँदैछ ।
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा हुने १२ सांसदका लागि कर्णाली प्रदेशमा १ सय ३१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कर्णाली प्रदेशमा १० लाख ३७ हजार २ सय ५० जना मतदाता रहँदा ५ लाख ९३ हजार ६१ जना महिला मतदाता छन् । अन्य क्षेत्रमा जस्तै कर्णालीमा पनि नयाँ र पुराना दलबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यसअघि २०७९ को निर्वाचनमा कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये कांग्रेस र तत्कालिन माओवादीले समान ४÷४ सिट तथा तत्कालिन एकीकृत समाजवादीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सिट जितेका थिए । एमालेले भने कर्णालीमा जितेको थिएन । यसपटक भने कर्णालीको परिदृश्य फरक देखिएको छ । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी र श्रम सस्कृति पार्टीले आफ्ना उम्मेदवार उठाएका छन् । नयाँ दलहरुको उपस्थितिले पारेको प्रभावले सल्यानमा चुनावी माहोल थप रोचक बनाएको बताइन्छ ।
सल्यानमा एमालेका गुलावजंग शाह, कंग्रेसका केशवहादुर बिष्ट, नेकपाका रमेश मल्ल, रास्वपाका ललितकुमार चन्द र राप्रपाकी अनिशा नेपालीसहित १४ जना उम्मेदवार छन् । त्यस्तै, डोल्पामा एमालेका लंकवहादुर रोकाया, कंग्रेसका कर्णवहादुर बुढा र नेकपाका धनबहादुर बुढासहित ९ जना उम्मेदवार छन् ।
मुगुमा एमालेका पूर्णवहादुर रोकाया, कंग्रेसका खड्ग शाही, नेकपाका चन्द्रवहादुर शाही, रास्वपाका भुवन टमाटासहितका उम्मेदवार छन् । जुम्लामा यसअघि जितेका राप्रपाका ज्ञानेन्द्र शाही, एमालेका शान्तिलाल महत, कंग्रेसका दीपवहादुर शाही, नेकपाका नरेश भण्डारी र रास्वपाकी बिनिता कठायतसहित १० जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् ।
कालिकोटमा यसअघि जितेका नेकपाका महेन्द्रवहादुर शाही, एमालेका नगिन्द्र शाही, कंग्रेसका हर्षवहादुर बम र रास्वपाका प्रकाश न्यौपानेसहित १० जनाको उम्मेदवारी परेको छ । दलहरुले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भनेपनि रुकुम पश्चिममा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच तालमेल भएको छ । अघिल्लो पटकको चुनावमा तत्कालिन माओवादीबाट जितेपनि अहिले प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका जनार्दन शर्माको चुनावी नतिजालाई महत्वका साथ हेरिएको छ ।
हुम्लामा एमालेका दल फडेरा, कंग्रेसका जयपति रोकाया, नेकपाका दीपेन्द्र रोकाया र रास्वपाकी टासी ल्हान्जोमसहितका उम्मेदवार छन् । जाजरकोटमा यसअघि जितेका नेकपाका शक्ति बस्नेत, एमालेका डम्बर सिंह, कंग्रेसका खडक बहादुर बुढा र रास्वपाका राघव कार्की लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैजसो दलका नेताहरु भोट माग्न व्यस्त छन् । सुर्खेत १ मा एमालेका धुव्रकुमार शाही, कंग्रेसका विष्णुवहादुर खड्का, नेकपाका जितवहादुर राना, राप्रपाका रवि हमाल र रास्वपाका टेकवहादुर सिंह ठकुरी प्रतिस्पर्धा गर्दैछन् । सो क्षेत्रमा अघिल्लो पटक कंग्रेसका पूर्णवहादुर खड्काले जितेका थिए ।
सुर्खेत २ मा भने एमालेका कुलमणि देवकोटा, कंग्रेसका नारायण कोइराला, नेकपाका झकवहादुर मल्लसहितको उम्मेदवारी परेको छ । त्यस्तै, दैलेखमा क्षेत्र नम्बर १ मा एमालेका रविन्द्रराज शर्मा, कंग्रेसकी बासना थापा, नेकपाका अम्मरवहादुर थापा र रास्वपाका नन्दकिशोर बस्नेतसहित १० जना प्रतिस्पर्धा गर्दैछन् । दैलेख २ मा भने एमालेका लक्ष्मीप्रसाद पोखरेल, कंग्रेसका दिक्पाल कुमार शाही, नेकपाका योगेन्द्र शाही सहित ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।