विश्लेषण

फागुन २१ को निर्वाचनः प्रमुख दलले ल्याउने समानुपातिक मतमा चासो

- नविन कोइराला काठमाडौं

आगामी निर्वाचनमा नयाँ र पुराना दलहरुबीच चुनावी प्रतिस्पर्धा रोचक हुने अपेक्षाबीच समानुपातिकतर्फ कसले बढी मत ल्याउन सक्छ भन्ने चासो देखिएको छ । प्रत्यक्ष निर्वाचनमा सोचेजति नतिजा नआएपनि समानुपातिकको भोटले समेत दल विशेषको हैसियत मापन हुने भएकाले त्यसप्रति आम जिज्ञासा बढेको हो । विगतका निर्वाचनमा समानुपातिकतर्फ दलहरुको मतमा फेरबदल हुँदै आएको छ ।

आगामी फागुन २१ गते मिश्रित निर्वाचन प्रणाली अन्तर्गत प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकमा १ सय १० सिटका लागि चुनाव हुँदैछ । दलहरुले पहिलो हुने निर्वाचित प्रणाली अर्थात् प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकमा समेत बढी भोट ल्याउने कसरत गरिरहेका छन् । विगतको नतिजालाई हेर्ने हो भने एमालेले दुई पटक तथा माओवादी र कांग्रेसले एक÷एक पटक सबैभन्दा बढी मत ल्याएका थिए । पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन माओवादीले ३१ लख ४४ हजार २ सय ७ मत ल्याएको थियो, जसबाट सो पार्टीले एक सय सिट जितेको थियो । 

दोस्रो भएको नेपाली कांग्रेसले २२ लाख ६९ हजार ८ सय ८३ समानुपातिक मत ल्याउँदा ७३ सिट पाएको थियो भने तेस्रो दल बनेको एमालेले २१ लाख ८३ हजार ३ सय ७० मतसहित ७० सिट पाएको थियो । यस्तै मधेशी जनअधिकार फोरम, नेपालले ६ लाख ७८ हजार ३ सय २७ मतका साथ चौथो ठूलो दल बन्दा २२ सिट पाएको थियो भने पाँचौ दल बनेको तराई मधेश लोकतान्त्रीक पार्टीले ३ लाख ३८ हजार ९ सय ३० मत र ११ सिट पाएको थियो । यस्तै छैटौं दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ लाख ६३ हजार ४ सय ३१ मत र ८ सिट पाएको इतिहास छ ।


संविधानसभाको दोस्रो चुनावमा नेपाली कांग्रेसले समानुपातिकतर्फ २४ लाख १८ हजार ३ सय ७० मत प्राप्त गरी ९१ जना समानुुपातिक सभासद निर्वाचित गरेको थियो । यस्तै नेकपा एमालेले समानुपातिकतर्फ २२ लाख ३९ हजार ६ सय ९ मत प्राप्त गरेर ८४ जना समानुपातिक सभासद निर्वाचित गरेको थियो । पहिलो संविधानसभामा पहिलो बनेको तत्कालीन माओवादीले समानुुपातिकतर्फ १४ लाख ३९ हजार ६ सय २६ मत प्राप्त गरी ५४ जना समानुुपातिक सभासद निर्वाचित गरेको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ६ लाख ३० हजार ६ सय ९७ समानुपातिक तर्फको मत पाउँदा २४ जना सभासद पाएको थियो । यस्तै अर्को रष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार २ सय ३४ मत सहित १० सिट पाउँदा तराई मधेश लोकतान्त्रीक पार्टीले १ लाख ८१ हजार १ सय ४० मत सहित ७ सिट जितेको थियो ।

नयाँ संविधान अनुसार २०७४ मा भएको निर्वाचनमा एमालेले समानुपातिकतर्फ ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको थियो । त्यसैगरी कांग्रेसले ४०, तत्कालीन नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्क छ । २०७४ निर्वाचनमा एमालेले ले ३१ लाख ७३ हजार ४ सय ९४ मत ल्याएको थियो । त्यस्तै नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत प्राप्त गरेको थियो । यसैगरि तत्कालीन माओवादी केन्द्र, समाजवादी जनता पार्टी, जागरण पार्टी नेपालबीचको गठबन्धनले १३ लाख ३ हजार ७ सय २१ मत पाएको थियो भने राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख ७२ हजार २ सय ५४ मत ल्याएको थियो । तत्कालीन संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार २ सय १ मत पाएको इतिहास छ ।

यस्तै विवेकशिल साझा पार्टीले २ लाख १२ हजार ३ सय ६४ मत पाएको थियो । २०७४ को निर्वाचनमा समानुपतिकतर्फ सर्वाधिक मत ल्याएको एमालेले २०७९ मा पनि आफूलाई शीर्ष स्थानमा राख्न सफल भएको देखिन्छ । त्यतिबेला एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको देखिन्छ । त्यस पटक उसले ३४ समानुपातिक सिट पाएको थियो । २०७४ मा दोस्रो भएको नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत पाएको छ । यसपटक कांग्रेसबाट ३२ जना समानुपातिक सांसद् बनेका थिए । पुराना र ठूला दलहरुको समानुपातिक तर्फको मत घट्नुमा राष्ट्रिय दल बन्ने पार्टीको संख्या बढ्नु मुख्य कारण देखिन्छ । २०७४ मा ५ वटा मात्र दल राष्ट्रिय पार्टी बनेकोमा २०७९ मा आइपुग्दा ७ वटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

२०७९ मा समानुपतिकतर्फ ११ लाख ७५ हजार ६ सय ८४ मत सहित तत्कालीन माओवादी केन्द्रबाट १४ जना संसद् प्रवेश गरेका थिए । यसैगरि पार्टी स्थापना भएको छोटो समयमा निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर १३ जना समानुपातिक सांसद पाएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९ मत पाउँदा ७ जना सामानुपातिक सांसद प्रतिनिधिसभामा पुगेका थिए । यस्तै अर्को राष्ट्रिय दलको मान्यता पाएको जनता समाजवादी पार्टी, नेपालले पाएको ४ लाख २१ हजार ३ सय १४ मत सहित ५ जना समानुपतिक सांसद पाएको थियो । त्यस्तै ३ लाख ९४ हजार ६ सय ५५ मत सहित जनमत पार्टीबाट ५ जना सामाुपतिक सांसद बनेका थिए । संविधान अनुसार राष्ट्रिय पार्टी बन्न समानुपातिकमा सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । यस्तै कारणले जेन जी आन्दोलनपछि हुन लागेको आगामी निर्वाचनमा दलहरुले समानुपातिक मत कति ल्याउँछन् भन्ने चासो प्रकट भएका छन् ।