कोशी प्रदेशमा नयाँ र पुराना उम्मेदवारबीच कडा प्रतिस्पर्धा
- काठमाडौंआसन्न निर्वाचनलाई लिएर मुलुकभर नै चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा सबै प्रदेशमा चुनावी अभियान र प्रचारप्रसार चलेजस्तै कोशी प्रदेशमा पनि चुनावी गतिविधिले तीव्रता पाएको छ । २८ वटा निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा पटक पटक जितेका नेता र नयाँ अनुहारसहितका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । समग्रमा कोशी प्रदेशको निर्वाचनले पुराना दललाई विरासत जोगाउन तथा नयाँ र वैकल्पिक शक्तिको परीक्षण गर्ने मौका दिएको छ ।
फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्य प्रदेश जस्तै कोशी प्रदेशका विभिन्न जिल्लामा हेभिवट उम्मेदवार देखि चर्चित र नयाँ अनुहारहरु चुनावी मैदानमा उत्रिएका छन् । कोशी पमा कुल मतदाता संख्या ३५ लाख ७४ हजार ३ सय १० रहेका छन् । जसमा महिला मतदाताको संख्या १७ लाख ४६ हजार ७३ रहेको छ भने पुरुष मतदाताको संख्या १८ लाख २८ हजार २ सय १३ रहेको छ । त्यस्तै अन्य मतदाताको संख्या २४ छ ।
कोशी प्रदेशका १४ जिल्लामा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ,सुनसरी,मोरङ,सोलुखुम्बु,ओखलढुंगा र उदयपुर रहेका छन् । कोशी प्रदेशमा जम्मा उम्मेदवारको संख्या ५ सय ५ रहेको छ । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ ।
झापामा १ मा १५ , २ मा १८, ३ मा १७,४ मा १६ र ५ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन् । ती मध्ये क्षेत्र नम्बर ५ सबैभन्दा बढी चर्चामा छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाहको उम्मेदवारीले सो क्षेत्र राष्ट्रिय राजनीति गर्माएको छ । सोही क्षेत्रमा नेकपाका तर्फबाट रञ्जित तामाङ समेत चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै,झापाकै क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट पूर्वसभामुख देवराज घिमिरे र रास्वपाबाट उपसभामुख इन्दिरा राना मगर मैदानमा हुनुहुन्छ भने क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवारी दिनुभएको छ । यस्तै, कोशी प्रदेशमा सबै भन्दा धेरै निर्वाचन क्षेत्र रहेको मोरङका ६ निर्वाचन क्षेत्रबाट १ सय १८ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेश राजधानी समेत रहेको मोरङमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरु डा. शेखर कोइराला, महामन्त्री गुरुराज घिमिरे र डा. सुनिल शर्मासहित प्रतिस्पर्धामा छन् । त्यस्तै, सुनसरीका चारै निर्वाचन क्षेत्रमा गरी कुल १ सय १० जना उम्मेदवार मैदानमा छन् । सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राईसहित प्रतिस्पर्धा हुँदैछ । सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियतबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि सो क्षेत्रमा कार्की विजयी हुनुभएको थियो ।
त्यस्तै सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ समेतले चुनावी माहोल रहेको छ । पटक पटक चुनाव जितेका दलदेखि नयाँ दल समेत मैदानमा रहेका छन् । नेपाली कांग्रेसका विजयीकुमार गच्छदार र एमालेकी नेतृ भगवती चौधरी चुनावी मैदानमा रहेका छन् । गत निर्वाचनमा गच्छदारलाई पराजित गरेकी चौधरीले लगातार दोस्रो पटक पराजित गर्ने रणनीति सहित चुनावी मैदानमा होमिएकी छन् ।
रास्वपाका उमेद्धवार अशोक चौधरी पनि पहिलो जीत निकाल्ने दाउमा रहेका छन् । त्यस्तै, कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार उदयपुरका दुई निर्वाचन क्षेत्रमा कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनको मिति नजिकिएसँगै उदयपुरको राजनीतिक माहौल तातिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको उदयपुरमा ३१ जना चुनावी मैदानमा होमिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट विदुर बस्नेत,एमालेबाट दुर्गा थापा छन् भने थापाविरुद्ध बागी उम्मेदवार देवराज रोका पनि चुनावी मैदानमा छन् । नेकपाबाट बलदेव चौधरी,रास्वपाबाट पारसमणि गेलाल, श्रम संस्कृति पार्टीबाट राजेशकुमार राई, उज्यालो नेपाल पार्टीबाट अर्जुन घिसिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुवासचन्द्र खड्का, नागरिक सर्वोच्च पार्टी नेपालबाट प्रशान्तकुमार राई, सहित अन्य दल चुनावी मैदानमा रहेका छन् । त्यस्तै, २ बाट एमालेका मोहम्मद जियाउल रहमान, कांग्रेसबाट राम कुमार यादव, राप्रपाबाट अजय कुमार दास,रास्वपा रामजी यादव, नेकपाबाट सुर्यनाथ प्रसाद यादव, श्रम संस्कृतिबाट त्रिभुवन खंग लगायत अन्य दलको उपस्थिति छ ।
त्यसो त कोशी प्रदेशका पहाडी जिल्लामा समेत प्रतिस्पर्धाकमजोर देखिएको छैन । उपलब्ध तथ्यांकअनुसार ताप्लेजुङमा १३, पाँचथरमा १५, इलामका दुई निर्वाचन क्षेत्रमा २७, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दिएका छन् । एउटा मात्र निर्वाचन क्षेत्र भएको ताप्लेजुङमा विगतमा एमालेले जित्दै आएपनि यस पटक भने नयाा अनुहारलाई प्राथमिकता दिएको छ ।
यसअघिका दुई निर्वाचनमा योगेश भट्टराईले जितेका थिए । यस पटक भने भट्टराईको सट्टा एमालेले युवा संघका अध्यक्ष क्षितिज थेबेलाई अघि सारेको छ । यद्यपी,एमाले बाहेकका दले कांग्रेस नेकपा,रास्वपा, हर्क सामपाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समेत जितको आधार बनाउने दाउमा रहेका छन् ।
यस्तै, एउटा निर्वाचन क्षेत्र भएको खोटाङमा कांग्रेसका वीर काजी राइ,एमालो देव विक्रम राई, राप्रपाका दिपक तामांग, नेकपाका हरि रोक्का, नेमकिपाका ध्यान प्रसाद ढकाल, जसपा नेपालका सुनिल चाम्लिंग,रास्वपाका रुद्र गिरी, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राइ, श्रम संस्कृति पाटीका आरेन राइ,मंगोल नेशनल अर्गनाइजेशसनका प्रयाग राइ लगायतका दलहरु चुनावी मैदानमा छन् । कोशी प्रदेशका जिल्लामा पहिचानवादी शक्तिहरु समेत चुनावी दौडमा उत्रिएका छन् । यस्तै, एउटा निर्वाचन क्षेत्र भएको ओखलढुंगामा एमालेकी अस्मिता थापा, कांग्रेसका कुमार लुईटेल, श्रम संस्कृति पार्टी उद्धव कुमार राई, नेकपा समेत पुराना तथा नयाँ दलका उम्मेदवारहरु चुनावी मैदानमा छन् । यस्तै, एउटा निर्वाचन क्षेत्र भएको सोलुखुम्बुमा ८५ हजार ५ सय १५ मतदाता रहेका छन् ।
एमालेबाट कल्पना राई, कांग्रेसबाट प्रकाश सिंह कार्की, राप्रपाबाट राजेन्द्र बस्नेत, रास्वपाबट ऋषि धन थुलुङराई,उज्यालो नेपाल पार्टीबाट पेम्बा छिरी शेर्पा,नेकपाबाट अशिम राई लगायतका दल चुनावी मैदानमा उत्रिएका छन् । दुई निर्वाचन क्षेत्र भएको पूर्वी पहाडी जिल्ला संखुवासभामा १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसबाट दिपन कुमार श्रेष्ठ,एमालेबाट अर्जुन कुमार कार्की, रास्वपाबाट मिङ्मा शेर्पाा, नेकपाबाट सरिता थापा,श्रम संस्कृतिपार्टीबाट उमा कुमारी राइ, राष्ट्रिय परिवर्तन पार्टीबाट घनश्याम उलाङि राई लगायत अन्यदलबाट चुनावी मैदानमा उत्रिएका छन् । पुराना दलसँगै नयाँ पार्टीको पनि चर्चा उत्तिकै रहेको छ ।
कोशी प्रदेशकै अर्को पहाडी जिल्ला तेह्रथुममा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला हो । तेह्रथुममा पुराना शक्ति र वैकल्पिक शक्तिको एकैसाथ परीक्षण हुँदैछ । यसपटक तेह्रथुममा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट भानुक्त ढकाल, कांग्रेसबाट सन्तोष सुब्बा, नेकपाबाट रनध्वज लिम्बू, रास्वपाबाट हामेभक्त लिम्बू कुरुम्बाङ रहेका छन् ।
यी बाहेक अन्य दल श्रम संस्कृति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,जनमुक्ति पार्टी,राष्ट्रिय परिवर्तन, मंगोल नेसनल अर्गनाइजेसन लगायत अन्य दल पनि चुनावी मैदानमा छन् । त्यस्तै कोशी प्रदेशकै अर्को जिल्ला पाँचथरमा निर्वाचन केन्द्रित चहलपहल बढेको छ । विगतमा स्थापित भएका प्रमुख दल देखि नयाँ दलहरु समेत चुनाव केन्द्रित बनेका छन् । यसपटकको निर्वाचनमा अधिकांश उम्मेदवार नयाँ छन् ।
कोशी प्रदेशको अर्को पहाडी जिल्ला इलाममा पनि चुनावी सरगर्मी बढेको छ । इलाममा कुल मतदाता संख्या २ लाख ३१ हजार ८ सय ९ रहेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। इलाममा निर्वाचन क्षेत्र नम्बर १ बा एमालेका काजी मान कागते, कांग्रेसका निश्कल राई , राप्रपाका ज्वाला नेपाल, रास्वपाका विमल गदाल, मंगोल नेशनल अर्गनाइजेशनका बुद्ध लाल मेचे सहित, नेकपाका रन बहादुर राई नेमकिपा, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी,नेपाल जनमुक्ति पार्टी, जसपा लगायत दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
त्यस्तै इलाम क्षेत्र नम्बर २ बाट एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका भेषराज आचार्य, राप्रपाका गणेश प्रसाद दुलाल, रास्वपाका गोकुल बहादुर राई, जसपाका बल बहादुर आङ्देम्बे,नेकपाका ओम बहादुर गुरुङ सहित अन्य दल चुनावी मैदानमा छन् । निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताले इलाम जिल्लालाई देशकै राजनीतिको केन्द्रबिन्दुमा ल्याएको छ ।
त्यस्तै, अर्को पहाडी जिल्ला भोजपुरमा कुल मतदाता संख्या १ लाख २३ हजार ३ सय ७९ रहेको छ । एउटै मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा एमालेबाट शेरधन राई, कांग्रेसबाट वालकृष्ण थापा, नेकपाबाट अजम्बर राई कांगमांग,राप्रपाबाट जनक नेपाल, रास्वपाबाट रमेश प्रसाद ओझा, श्रम संस्कृति पार्टीका धु्रवराज राई, राष्ट्रिय परिवर्तन पार्टी, नेमकिपा, मंगोल नेशनल अर्गनाइजेसन, आम जनता पार्टी जसपा र नेपाल कम्युनिष्ट पार्टी माओवादी चुनावी मैदानमा रहेका छन् ।
आसन्न निर्वाचन कांग्रेस, एमाले, माओवादी, रास्वपा जस्ता राष्ट्रिय दलदेखि विभिन्न साना दल र पहिचान–आधारित दलसम्म उम्मेदवार मैदानमा छन्। यही अवस्थामा पुराना दलहरुलाई विरासत जोगाउने चुनौती छ भने नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरु नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् । समग्रमा हेर्दा कोशी प्रदेशको आसन्न प्रतिनिधिसभा निर्वाचन हेभिवेट नेतादेखि पहिलो पटक मैदानमा उत्रिएका नयाँ अनुहार, राष्ट्रिय दलदेखि पहिचानवादी र साना दलसम्मको व्यापक उपस्थितिले चुनावी माहोललाई बहुआयामिक र रोचक बनाएको छ ।