सर्वाधिक चासो रहेको झापा ५ मा चुनावी रौनक बढ्दै
- काठमाडौंझापा निर्वाचन क्षेत्र नम्वर ५ आगामी चुनावमा सबैभन्दा बढी चासो व्यक्त भएकामध्ये एक क्षेत्र हो । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसहित प्रमुख दलका उम्मेदवारको प्रतिस्पर्धाले त्यहाँको चुनावी रौनक निकै बढाएको छ ।
झापाका ५ वटा क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता क्षेत्र नम्वर ५ मा छन् । दमक नगरपालिका र कमल गाउँपालिका तथा गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका केही वडा समेटिएको यो क्षेत्रमा १ लाख ६३ हजार ३ सय ७९ जना मतदाता छन् । यहाँबाट चुनाव जित्न २४ जना उम्मेदवार मैदानमा छन् । तर एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै चर्चा पाएको छ ।
एमाले अध्यक्ष ओलीले जित्दै आएको क्षेत्रमा चुनावी सरगर्मी बढेसँगै आम मतदातामा उत्साह देखिन्छ र उनीहरु स्थानीय आवश्यकतालाई प्राथमिकता दिने उम्मेदवारलाई भोट दिने बताउँछन् । उनीहरुमध्ये एक हुन् दमक नगरपालिका नमुना बजारका ७६ वर्षीय पूर्णबहादुर राई । राईले यो पटक भाषण अनुसारको काम गर्ने र समग्र विकास गर्ने उम्मेदवारलाई छनौट गर्ने बताउँछन् ।
२४ उम्मेदवार मध्ये ९ जना स्वतन्त्र उम्मेदवार भएको झापा ५ मा नेपाली कांग्रेसबाट मन्धरा चिमरिया, नेकपाबाट रञ्जित तामाङ, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीका समिर तामाङ लगायत चुनावी मैदानमा उत्रिएका छन् । वामपन्थी जनमतको वर्चश्व रहँदै आएको यो क्षेत्रमा उम्मेदवारहरुसँग मतदाताले आफ्ना दैनिकीसँग जोडिएका विषय उठाइरहेको पाइन्छ । सिटी सफारी चालक पूर्णमाया कुमालले देशमा रोजगारीका सम्भावना सिर्जना गरेर विदेश पलायनको अवस्था रोक्न विशेष पहल गर्ने उम्मेदवारलाई भोट दिने पक्षमा आफू रहेको बताइन् ।
एमाले अध्यक्ष ओली, रास्वपाका शाह, नेकपाका तामाङ, कंग्रेसकी चिमरिया सहितका सबै उम्मेदवारले मतदाताको मन जित्न आफ्नो क्षेत्र केन्द्रित बाचापत्र ल्याएका छन् । स्थानीय मुद्धादेखि मुलुकमा सुशासन बहालीको बिषयलाई उनीहरुले प्राथमिकता दिएको देखिन्छ । तर मतदातालाई भने ठूला अपेक्षा भन्दा पनि आफ्नो ठाउँबाट निर्वाचित हुने उम्मेदवारले स्थानीय विकासलाई जोड दिऊन् भन्ने लागेको स्थानीय बम खड्का बताउँछन् ।
अघिल्लो पटक फराकिलो मत अन्तरले जित हात पारेका एमाले अध्यक्ष ओलीलाई हराउन सक्ने आत्मविश्वास बोकेर झापा पुगेका रास्वपाका शाह स्थानीय मतदातामा माझ पुगिरहेका छन् । भावी प्रधानमन्त्री भनेर प्रस्तावित शाहको उपस्थितिले यहाँको चुनावी सरगर्मी बढाएको बुझ्न कठिन छैन । जसरी शाह मतदाता माझ पुगिरहेका छन् त्यसैगरी एमाले अध्यक्ष ओली पनि मतदाताको मनोविज्ञान बुझ्न र आफ्नो पक्षमा नतिजा ल्याउने रणनीतिमा देखिन्छन् । यहाँको चुनावी नतिजाको आँकलन गर्न सहज देखिदैन । निर्वाचनले सधैं एउटा परिणाम आशातित रुपमा नदिने वरिष्ठ अधिवक्ता खगराज कट्टेलको बुझाइ छ ।
भदौ २३ र २४ को जेन जी आन्दोलनलाई हेर्ने बिषयमा राजनीतिक दल र उम्मेदवारको जस्तै फरक दृष्टिकोण र बुझाइ यहाँका मतदातामा पनि देखिन्छ । एमाले, नेपाली कंग्रेस, नेकपा र राप्रपासहितका दलहरु पार्टीको संगठनात्मक संरचनाको बलमा चुनाव जित्ने प्रयास गरिरहेका छन् भने नयाँ दल र अनुहारलाई लोकप्रियताका आधारमा भोट मागेर जित्न सकिने आत्मविश्वास जागेको छ । प्रमुख दलबीच प्रतिस्पर्धा तीव्र बनेसँगै झापा ५ मा दलहरुबीच तालमेल हुन सक्ने अड्कलबाजी समेत मतदाताहरुले गरिरहेका छन् ।