सुदूरपश्चिममा मुख्य दलका नेताहरुलाई नयाँ अनुहारको चुनौती
- काठमाडौंसुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा गरी २ सय ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । १७ लाख १६ हजार ६ सय ६० मतदाता रहेको सुदूरपश्चिममा नयाँ र पुराना अनुहारसहितका उम्मेदवार चुनाव जित्ने रणनीतिमा देखिन्छन् ।
सुदुरपश्चिमको निर्वाचन भन्ने वित्तिकै आम नागरिकको ध्यान नेपाली कंग्रेसका पूर्व सभापति शेरवहादुर देउवातर्फ केन्द्रित हुने गरेको पाइन्छ । पटक पटक प्रधानमन्त्री भएका देउवाको राजनीतिक विरासत जोडिएको सुदुरपश्चिममा अहिलेको निर्वाचनमा भने उनको उपस्थिति छैन । यस्तो अवस्थामा समग्र सुदुरपश्चिमको नतिजालाई लिएर चासो व्यक्त भएका छन् ।
अघिल्लो पटकको निर्वाचनमा यस प्रदेशका १६ मध्ये आधा अर्थात् ८ क्षेत्रमा नेपाली कंग्रेसले जितेको थियो । त्यस्तै, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले ३÷३ तथा एमालेले दुई सिट जितेका थिए । त्यतिवेला गठबन्धन भएपनि यस पटक दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा रहेकाले नतिजा फेरबदल हुन सक्ने देखिन्छ ।
एक मात्र निर्वाचन क्षेत्र भएको बाजुरामा एमालेका लालवहादुर थापा, कंग्रेसका जनक गिरी, नेकपाका प्रकाशवहादुर शाह र रास्वपाका हेमराज थापासहित ८ जना उम्मेदवार छन् । २ वटा निर्वाचन क्षेत्र भएको अछाममा प्रमुख दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । अछाम १ मा एमालेका दिपक साउद, कंग्रेसका भरत स्वाँर, नेकपाका भीम रावल र रास्वपाका ओमप्रकाश रावलसहितका उम्मेदवार छन् ।
अछाम २ मा भने एमालेका यज्ञ बोगटी, कंग्रेसका पुष्प शाह, नेकपाका बलवहादुर कुँवर र रास्वपाका भूपदेप शाहसहित ९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । बझाङमा एमालेका ऐन महर, कंग्रेसका प्रकाश रसाइली, नेकपाका मीनबहादुर कुँवर र रास्वपाका शैलेश कुमार सिंहसहित ७ उम्मेदवारबीच प्रतिस्पर्धा छन् ।
एक मात्र निर्वाचन क्षेत्र भएको डोटीमा एमालेका दीपक धामी, कंग्रेसका भरत खड्का, नेकपाका त्रिलोचन भट्ट, रास्वपाका नरेन्द्र खड्का लगायत ९ उम्मेदवार सांसद बन्ने योजनामा छन् । त्यस्तै दार्चुलामा एमालेका गणेश ठगुन्ना, कंग्रेसका धर्मानन्द जोशी, नेकपाका लक्ष्मणदत्त जोशी, रास्वपाका राजेश साउदसहित ११ जना उम्मेदवार छन् । बैतडीमा एमालेका दामोदर भण्डारी, कंग्रेसका चतुरवहादुर चन्द, नेकपाका प्रमानन्द भट्ट र रास्वपाका हरिमोहन भण्डारीसहितका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।
शेरवहादुर देउवाले निरन्तर जित्दै आएको डडेल्धुरामा भने कंग्रेसका नैनसिंह महर, नेकपाका मान सिह माल, रास्वपाका तारा प्रसाद जोशी, एमालेका चक्रप्रसाद स्नेही लगायत उम्मेदवार छन् । पहाडी क्षेत्र बाहेक सुदुरपश्चिमका अन्य दुई जिल्लामध्ये कञ्चनपुरमा तीन वटा र कैलालीमा ५ वटा क्षेत्रमा पनि प्रमुख दलहरुबीच तीव्र प्रतिस्पर्धा देखिन्छ ।
कञ्चनपुर १ मा नेकपाकी बिना मगर, कंग्रेसका गोपी उपाध्याय, एमालेका तारा लामा र रास्वपाका जनक धामी लगायत नेता सांसद बन्ने रणनीतिमा छन् । कञ्चनपुर २ मा भने कंग्रेसका एनपी साउद, एमालेका बचन सिंह, रास्वपाका दीपक बोहोरा र नेकपाका माधव पन्तसहित १९ उम्मेदवार छन् । कञ्चनपुरको तीन नम्वर क्षेत्रमा भने एमालेका दीपक भट्ट,कंग्रेसका हरि बोहोरा, नेकपाका मानवहादुर सुनारका साथै रास्वपाका ज्ञानेन्द्र सिंह महतासहितका नेता चुनावी लडिरहेका छन् ।
५ वटा क्षेत्र रहेको कैलालीमा पनि प्रमुख दलहरुबीच प्रतिस्पर्धाको आँकलन गरिएको छ । क्षेत्रीय दलको रुपमा स्थापित नागरिक उन्मुक्ति पार्टीको प्रभाव रहेकाले त्यहाँको चुनावी प्रतिस्पर्धा रोचक बनिरहेको छ । समग्रमा सुदुरपश्चिम प्रदेशमा नयाँ र पुराना अनुहारबीच होडबाजी देखिएका छन् । प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकका लागि पनि दलहरुले लोकप्रिय मत ल्याउने रणनीति बनाएका छन् ।
चुनावी प्रचारमा उम्मेदवारहरुले कृषि, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीजस्ता मुद्दालाई प्राथमिकता दिएका छन् । मतदाताले ठूला आश्वासन भन्दा अधुरा प्रतिबद्धता पुरा गर्नुपर्ने र ठोस कार्ययोजनासहित दल र नेताले काम गर्नुपर्ने अपेक्षा राखेका छन् ।