खानेपानी अभियानबाट राष्ट्रिय राजनीतिमा हर्क साम्पाङ
-हर्क साम्पाङको नेतृत्वमा स्थापना गरिएको ‘श्रम संस्कृति पार्टी’ले छोटो समयमै पूर्वी नेपालका विभिन्न जिल्लामा आफ्नो उपस्थिति बलियो बनाउँदै संसदीय राजनीतिको यात्रा अघि बढाएको छ । परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजीका बीच श्रम संस्कृति पार्टी संसदमा राष्ट्रिय दल बन्ने निश्चित भएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएसँगै हर्क साम्पाङको सार्वजनिक तथा राजनीतिक जीवनले नयाँ मोड लिएको हो । नगरप्रमुख बन्नुअघि उनी सामाजिक अभियन्ताका रूपमा परिचित थिए । विशेषगरी धरान क्षेत्रमा दीर्घकालदेखि देखिएको खानेपानी समस्या समाधान गर्ने उनको अभियान र योजनाले उनलाई जनताको व्यापक समर्थन दिलाउँदै नगरप्रमुख पदसम्म पु¥यायो । श्रम, स्वच्छता र जनसहभागिताको नारासहित सुरु भएको साम्पाङको यात्रा अहिले विस्तार हुँदै राष्ट्रिय राजनीतिसम्म आइपुगेको छ । सरल जीवनशैली र जनतासँगको प्रत्यक्ष सम्पर्कले उनलाई पूर्वी नेपालका विभिन्न जिल्लाबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने जनादेश दिलाएको मानिन्छ ।
गत भदौमा भएको ‘जेनजी आन्दोलन’पछि देशको नेतृत्व गर्ने उद्देश्यसहित काठमाडौं आएका साम्पाङ त्यसबेला सफल नभए पनि केही महिनापछि आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै निर्वाचनमार्फत संसदीय राजनीतिमा प्रवेश गर्न सफल भएका छन् । पार्टी स्थापना गरेर छोटो समयमै संसदीय राजनीतिमा प्रवेश गर्नुलाई कतिपयले अस्वाभाविक मान्दा, पूर्वी क्षेत्रमा रहेको जातीय मुद्दा तथा धरान उपमहानगरमा उनले गरेको कार्यसम्पादनले उनलाई यहाँसम्म ल्याएका धरानका राजनीतिक विश्लेषक राजेन्द्र शर्मा बताउँछन् ।
हर्क नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ले पूर्वी नेपालका तीन जिल्लाबाट प्रत्यक्षतर्फ तीन सिट जित्न सफल भएको छ । समानुपातिकतर्फ समेत थ्रेस होल्डका लागि चाहिने मत कटाएकाले उनको दल राष्ट्रिय पार्टी बन्ने भएको छ । सो पार्टीबाट उम्मेदवार बनेका ध्रुवराज राईले भोजपुर क्षेत्र नं. १ बाट १६ हजार ६ सय ६३ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। त्यसैगरी खोटाङ क्षेत्र नं. १ बाट आरेन राईले १६ हजार ६ सय १२ मतसहित जित हात पारेका छन् । सुनसरी क्षेत्र नं. १ बाट स्वयं हर्क साम्पाङले ३५ हजार ४ सय ४१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । निर्वाचित भएपछि उनले अब आफ्नो ध्यान मुलुकको विकास, निर्माण र समृद्धितर्फ केन्द्रित गर्ने बताएका छन् ।
निर्वाचन मिति घोषणा भएपछि हर्कले गत असोज ७ गते आफ्नो नेतृत्वमा ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए । सामाजिक सञ्जालमा सक्रिय साम्पाङले प्रमुख दलका नेतादेखि चर्चित समसामयिक विषयहरूमा तीखा टिप्पणी गर्दै आएका छन् । जसले गर्दा बेलाबखत् विवादमा आउने गरेका छन् । तर राजनीतिक विश्लेषक शर्माका अनुसार हर्कले अघि सारेको ‘हर्कवाद’को अवधारणालाई स्थानीय स्तरमा सकारात्मक रूपमा लिइएको छ र यसको प्रभाव क्रमशः विस्तार हुँदै गएको देखिन्छ । पूर्वी नेपालमा उल्लेखनीय प्रभाव छाडेका हर्क संसदीय राजनीतिमा प्रवेश गरेसँगै अझ जिम्मेवार र परिपक्व भूमिकामा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकार गठन गरेको अवस्थामा अन्य दलहरू जस्तै श्रम संस्कृति पार्टी पनि प्रतिपक्षमा रहने सम्भावना छ । यस्तो परिस्थितिमा हर्क साम्पाङ संसद्मा कसरी प्रस्तुत हुन्छन् भन्ने विषयलाई चासो पूर्वक हेरिएको छ । प्रतिनिधिमूलक सर्वोच्च निकायमा सबै दलसँग सहकार्य गर्दै अघि बढ्ने पक्षमा आफू रहने उनको भनाइ छ ।
२०७६ सालको स्थानीय तहको उपनिर्वाचनमा धरानको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले त्यतिबेला ४२२ मत मात्र प्राप्त गरेका थिए । त्यसपछि पनि निरन्तर सामाजिक अभियन्ताका रूपमा सक्रिय रहँदै आएका उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा पुराना दलका उम्मेदवारमाथि अप्रत्याशित जित हासिल गरेका थिए। उनै साम्पाङले स्थापना गरेको दलले पूर्वी जिल्लाहरूमा छोटो समयमै आफ्नो प्रभाव विस्तार गरेको निर्वाचन नतिजाले प्रष्ट पारेको छ । क्षेत्रीय राजनीतिमा अघिल्लो पटक उदाएका जनमत पार्टी र नागरिक उन्मुक्तिका साथै मधेस केन्द्रित दलहरु यो पटक असफल हुँदा श्रम संस्कृति पार्टीको संसदीय यात्रालाई कतिपयले रोचक मानेका छन् ।