विश्लेषण

खाना पकाउने ग्यासको वितरण प्रभावकारी नहुँदा उपभोक्ता मारमा

- दिपशीखा रेग्मी काठमाडौं

नेपाल आयल निगमले गत शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्न सुरु गरेको छ । निगमले आधा सिलिन्डर ग्यास बिक्रीवितरण गर्न सुरु गरेपनि उपभोक्ताहरुले सहजै ग्यास उपलब्ध नभएको गुनासो गरेका छन् । आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै जाँदा एकैपटक ठूलो परिमाणमा माग बढ्ने र आपूर्तिले धान्न नसक्ने अवस्था सिर्जना भएको बताइन्छ ।

मध्यपूर्वी देशमा चर्किएको द्वन्द्वको असर प्रत्यक्ष रुपमा नेपालमा समेत देखिएको छ । खाना पकाउने ग्यास नपाउदा समस्या भएको आम उपभोक्ताले गुनासो गरेका छन् । नेपाल आयल निगमका अनुसार हाल उपभोग्य बजारमा ग्यासको माग मासिक करिब ४६ हजार मेट्रिकटन छ । सोही परिमाणमा हालसम्म नियमित ग्यासको आपूर्ति समेत भइरहेको छ । 

यद्यपी, बजारमा एकैपटक ३ गुणासम्म माग बढ्दा अहिले ग्यास सहज रुपमा नपाइएको बताइन्छ । यसअघि, बिक्रेताले मासिक एक हजार सिलिन्डर ग्यास बिक्री गरिरहेकोमा पछिल्लोपटक सोही बिक्रेताकोमा ३ हजारभन्दा बढी सिलिन्डरको माग बढेको पाईएको छ । मध्यपूर्वमा चर्किएको युद्धले ग्यास अभाव हुने त्रासले उपभोक्ताहरूले धमाधम खाली सिलिन्डर भर्न थालेपछि बजारमा ग्यासको अभाव देखिएको निगमको भनाई छ । 

त्यसो त निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न आम उपभोक्तालाई आग्रह समेत गरेको छ । यद्यपी, पछिल्लो समय एकैपटक माग बढ्दा नियमित आपूर्तिले धान्न नसक्ने स्थिति बनेपछि केही दिनलाई आधा सिलिन्डर ग्यास वितरण गरेर बजारको समस्या समाधान गर्न खोजिएको निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टको भनाइ छ ।

मध्यपूर्वमा चर्किएको द्वन्द्वको असर नेपालको पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धनको आपूर्ति लगायतमा पर्ने विज्ञहरुले बताउदै आएका छन् । केहिदिनअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६७ रुपैयाँ अमेरिकी डलर पुगिसकेको छ । 

द्वन्द्वले प्रमुख तेल उत्पादक देशहरू प्रभावित हुँदा सो मूल्य बढेर कम्तीमा १ सय २० अमेरिकी डलरबराबर पुग्ने अनुमान गरिएको छ । जसको प्रत्यक्ष असर नेपालमा समेत परेको बताइन्छ । उपभोक्ताहरू पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यास आवश्यताभन्दा बढि खरिद गर्ने र भण्डारण गर्न थालेका छन् । र अर्कोतिर यतिबेला निगमले आधा सिलिन्डर मात्र ग्यास वितरण गर्न थालेपछि उपभोक्ता बिलखबन्दमा परेका छन् । 

उता, ग्यास बिक्रेता महासंघले समेत उपभोक्ताले अनावश्यक रुपमा भण्डार गर्दा समस्या सिर्जना भएको बताएको छ । आपूर्ति र भण्डारको अवस्था बारे भने ग्यास बिक्रेता महासंघका महासचिव विनोद काफ्लेले भने, ‘अभाव पूर्ण रुपमा भन्दा पनि बजारको माग अलि बढि भएकाले सहज बनाउन सिलिन्डर ग्यास पठाएका छौँ ।,१५ दिन पछि पुनः अवस्था सामान्य भएपछि पूर्ण सिलिन्डर पठाउने तयारी गरेका छौँ ।‘

पछिल्लो समय सरकारले आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गरे पनि देशभर खाना पकाउने ग्यास सहज रुपमा नपाएको उपभोक्ताले गुनासो गरेका छन् । यस्तै, काठमाडौं उपत्यकामा करिब एक महिनादेखि उपभोक्ताले घन्टौं लाइनमा बसेर पनि सहजै ग्यास नपाएको बताएका छन् । 

तर सरकारी निकायले बजारको माग धान्ने एलपी ग्यास उपलब्ध भएको दाबी गरिरहँदा उपभोक्ता मारमा परेको गुनासो उत्तिकै छ । पटक पटक ग्यास लिनका लागी बजार पुग्दा पनि ग्यास नपाएका भक्तपुरको सुर्यविनायक बासी रुद्र खड्काले भने, ‘चुनाव अघिदेखी नै खाना पकाउने ग्यास लिन जाँदा नपाइँदा समस्या भएको छ ।, बिहान बेलुका खाना पकाउन धेरै गाह्रो अवस्था भएको छ । ’

मध्यपूर्वमा भैरहेको युद्ध अझै लम्विन सक्ने भन्दै बिक्रेताहरूले ग्यास लुकाएर कृत्रिम अभाव गराएको हुन सक्ने कतिपयको भनाई छ । यसैबीच, राष्ट्रिय मानवअधिकार आयोगले समेत बजारमा ग्याँसको कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । 

आयोगले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्ति बढेको र कतिपय व्यवसायीबाट कृत्रिम अभाव सिर्जना गर्ने काम भएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो । यसै क्रममा खाना पकाउने ग्यास र सवारीसाधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको जनाएको छ । गत शनिबार मात्रै एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी सिलिन्डर लुकाउने पोखराको एक फर्मलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

सरकारले आधा सिलिन्डर वितरण गरेर बजार व्यवस्थापन गर्ने प्रयास गरे पनि उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । तत्काल देखिएको समस्या समाधानका लागि नियामक निकायले व्यवसायीले गर्दै आएको कालोबजारी रोक्न र उपभोक्तामाझ परिस्थिती बारे पर्याप्त जानकारी दिँदै वैकल्पिक उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । 

<iframe width="827" height="465" src="https://www.youtube.com/embed/iOhKMhHsKg8" title="खाना पकाउने ग्यसको वितरण प्रभावकारी हुन नसक्दा उपभोक्ता मारमा / Sabistar By Dipshikha" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>