राजसंस्था पुर्नस्थापना र हिन्दू राज्यको मुद्धा लिएर चुनाव लडेको राप्रपा ५ सिटमा सीमित
- काठमाडौंफागुन २१ गतेको निर्वाचनमा राजसंस्था पुर्नस्थापना र हिन्दू राज्यको एजेन्डा लिएर चुनाव लडेको एक मात्र पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा । तर त्यही राप्रपाले अन्य दलले जस्तै अप्रत्याशित नतिजा व्यहोरेको छ ।
प्रत्यक्षतर्फ एक र समानुपातिकमा चार सिट जित्नुले राजावादी दलको जनमत घटेको स्पष्ट सन्देश दिएको छ । गणतन्त्र स्थापनापछिका निर्वाचनमा राप्रपाले यो पटक पाएको जनमत निकै कमजोर बनेको हो । राप्रपाको पराजयलाई कतिपयले राजतन्त्र पुर्नस्थापनाको एजेन्डाको हारको रुपमा समेत अथ्र्याएका छन् ।
पञ्चायती राजनीतिको विरासतबाट आएका नेताहरुको एकताबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जन्म भएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै प्रजातन्त्रको पुनःस्थापना भएपछि मुलत नेपाली कंग्रेस र कम्युनिस्ट धारका पार्टीहरु खुला राजनीतिमा आएपश्चात् सुर्यवहादुर थापा र लोकेन्द्रवहादुर चन्दको नाममा दुई वटा राप्रपा बनेका थिए ।
तर २०४८ सालको आमनिर्वाचनमा धक्का पाएपछि थापा र चन्द समूह मिलेर एउटै पार्टी बनाएपनि राप्रपाले पटक पटक विभाजनको मार खेप्नुप¥यो । कतिसम्म भने २०६४ सालको पहिलो संविधानसभामा पूर्व पञ्चहरुको तीन वटा दल राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी सहभागी भएका थिए ।
निर्वाचनमा खासै राम्रो जनमत ल्याउन नसकेपछि पशुपति शमशेर राणाको राप्रपा र सुर्यवहादुर थापाको जनशक्ति पार्टीबीच एकता हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिएको थियोे भने कमल थापाको राप्रपा नेपाल संविधानसभाको निर्णयको विपक्षमा उभियो ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा राणा नेतृत्वको राप्रपाले १२ र थापा नेतृत्वको पार्टीले मनोनितसहित २५ सिट हासिल गर्नुलाई गणतन्त्रमा राजावादीको जनमत बढेको उदाहरणको रुपमा लिइन्छ ।
त्यतिवेला दुई वटा पार्टी मिल्दा ३७ सिट संविधानसभामा थियो । त्यसपश्चात् विभाजनको चक्र नरोकिएपछि राजावादी शक्तिहरु चुनावमा खुम्चिदै गएका हुन् । संविधान बनेपछि २०७४ को निर्वाचनमा राप्रपाले एक सिट मात्र प्रत्यक्ष जितेको थियो । तर त्यसको ५ बर्षपछि २०७९ सालको आमनिर्वाचनमा प्रत्यक्षतर्फ सात सिट जितेको राप्रपाले समानुपातिकमा ५ लाख ८८ हजार ८४९ मत प्राप्त गरेर सात सिट पायो ।
समग्रमा १४ सिटसहित राप्रपा पाँचौ शक्ति बन्यो । सो निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालले कुनै सिट जित्न सकेन । यसरी हरेक चुनावमा धक्का खाँदै आएको राप्रपाले यो पटकको निर्वाचनमा भने निराशाजनक नतिजा भोग्नुप¥यो ।
प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ ४ गरि संसदमा जम्मा ५ सिटमा सीमित भएको छ । प्रत्यक्षतर्फ राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित हुँदा, समानुपातिकतर्फ सरस्वती लामा, भरत गिरी र खुस्बु ओली र ताहिर अली छनोट भएका छन् । राप्रपाले ३ लाख ३० हजार ६ सय ८४ मत पाएर मुस्किलले थ्रेसहोल्ड कटाएको हो ।
निर्वाचनको नतिजाबारे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भन्छन् ‘ राप्रपाको लागि यो चुनावको परिणाम अनपेक्षित रह्यो । हामीले अहिलेको भन्दा राम्रो नतिजाको अपेक्षा राखेका थियौं । तर जनताले जुन अभिमत निर्वाचनको माध्यमबाट प्रकट गरेका छन्, त्यसलाई राप्रपाले स्विकार गर्दछ । ’
राजसंस्था, धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना, प्रदेश खारेजी जस्ता मुद्दा लिएर निर्वाचनमा होमिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित चुनाव लडेका सबैजसो शीर्ष नेता पराजित भएका छन् । चुनाव भन्दा केही साताअघि मात्र राप्रपासँग एकता गरेका नेता कमल थापा काठमाडौं–५ मा पराजित हुन पुगे ।
त्यस्तै, अर्का नेता धुव्रवहादुर प्रधान नवलपरासी पश्चिमको क्षेत्र नम्वर २ र अर्का नेता रविन्द्र मिश्र काठमाडौं–१ मा पराजित भए । चुनाव हारेपछि नेता मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरिसकेका छन् । पार्टीको पराजयबाट राप्रपा पंक्तिमा निराशा देखिएको छ । प्रवक्ता श्रेष्ठ कमीकमजोरीहरुको समिक्षा गर्दै अघि बताउँछन् ।
नयाँ शक्तिको रुपमा रास्वपाको उदयसँगै नेपाली कंग्रेस, एमाले र नेकपा जस्ता गणतन्त्रवादी दलहरुले समेत धक्का व्यहोरेको निर्वाचनमा राजतन्त्रवादी दलको पराजयलाई कतिपयले स्वभाविक रुपमा अथ्र्याएका छन् । र, राप्रपाको जनमत घट्नुलाई विभिन्न कोणबाट विश्लेषण गरिएका छन् ।
विश्लेषक केशव दाहालले भने ‘ सानो संख्यामा भएपनि परम्परागतवादी अभिमतहरु रहन्छन् । नेपालमा पनि राजतन्त्र फर्काउनु पर्छ, राजा हुँदा राम्रो थियो, हाम्रो इतिहास असाध्यै सुन्दर थियो, त्यो इतिहास तिर नै हामी जानुपर्छ भन्ने थियो । विगतमा धेरै विनम्र हुने र इतिहासलाई अपव्याख्या गर्ने । यो संसार भरि नै एउटा कन्जरभेटिभ फोर्स रहन्छ, सानो संख्यामा भए पनि । र नेपालमा पनि त्यो फोर्स छ, जसले राजतन्त्रको कुरा गर्छ । र त्यो सानो स्पेसमा सानो ढंगमा त्यो शक्ति रहन्छ र त्यहि शक्तिको प्रतिनिधित्व हो भन्ने मलाई लाग्छ । र त्यो अहिले हेर्दाखेरी विस्तारै घट्दै जाँदै छ । यसको अर्ध के हो भने नागरिकहरुले परम्परागत राजनिति तथा एजेन्डालाई त्यति धेरै विश्वास गरेका छैनन् । नागरिकले सुशासन, समृद्धि र विकास चाहन्छन् । पछाडि फर्कन चाहदैनन् भन्ने एउटा अभिमत हो भन्ने मलाई लाग्छ । ’
हुन त अरु दल जस्तै राप्रपाभित्र पनि चुनावअघिसम्म आन्तरिक विवादहरु निकै थिए । पार्टीको महाधिवेशन आयोजनादेखि राजतन्त्रवादी समूहको आन्दोलनलाई हेर्ने दृष्टिकोणमा राप्रपाका नेताहरुको फरक मत रह्दै आएको थियो ।
त्यसमाथि निर्वाचन लगत्तै राप्रपाले उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रिय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी जिम्मेवारीबाट मुक्त गरिनुले पार्टीको विवाद प्रस्ट हुन्छ । अर्कोतर्फ कतिपय नेताले पार्टीमा पुर्नसंरचनाको मुद्धा उठाउन थालेका छन् ।