विश्लेषण

सुर्खेतकी इनिशा विकको मृत्यु : सामूहिक बलात्कार नभएको निष्कर्ष

- दिपशीखा रेग्मी काठमाडौं

सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सम्वन्धित निकायमा बुझाएको छ । एकातर्फ झन्डै तीन साताअघि मृत्यु भएकी १६ वर्षीया इनिशाको शव अझै उठ्न सकेको छैन भने अर्कोतर्फ निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कारवाही गर्न देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । यही अवस्थामा प्रहरीले बुझाएको प्रतिवेदनले इनिशामाथि सामूहिक बलात्कार नभएको निष्कर्ष निकालेको छ ।

सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान टुंग्याएर प्रतिवेदन बुधवार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले अनुसन्धान प्रतिवेदन बुझाइएको जानकारी दिए ।

प्रतिवेदनमा इनिशाको मृत्यु सामूहिक बलात्कारबाट नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तस्रावका कारण भएको निष्कर्ष निकालिएको प्रहरी स्रोतको भनाइ छ । मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैदको माग गरिएको बताइएको छ । अन्य तीन जनाविरुद्ध भने घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाउन भनिएको छ । 

प्रहरीका अनुसार घटनामा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो । उनीहरुको परिचय भने सार्वजनिक गरिएको छैन । यसअघि पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै विरोध जनाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत घटनाको अनुसन्धानमा संलग्न भएको थियो । प्रहरीले उच्च प्रविधिको प्रयोग गरी अनुसन्धान गरेको जनाएको छ । यता, मृतक इनिशाका परिवारले भने बलात्कारपछि उनको हत्या भएको दावी गदै आएका छन् । घटनाको वास्तविकता पत्ता लगाउन ढिलो गरिएको आरोप परिवारजनको छ ।

गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की इनिशा ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी थिइन् । सोही दिन वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । उद्धार गरी कर्णाली प्रदेश अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । परिवारको जाहेरीपछि बाँकेस्थित भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले शवको पोस्टमार्टम गरेको थियो । 

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा बलपूर्वक गरिएको शारीरिक सम्पर्कले अत्यधिक रक्तस्राव हुँदा इनिशाको मृत्यु भएको निष्कर्ष निकालेको थियो । परिवारले पोस्टमार्टम रिपोर्टप्रति नै असन्तुष्टि जनाउँदै आएका छन् । सो घटनालाई दलित किशोरीमाथिको हिंसाको पछिल्लो उदाहरणको रुपमा हेरिएको छ । किशोरीमाथि भएका हिंसाका घटनामा पीडकलाई कारवाही नभएको भन्दै आलोचना हुँदै आएकोमा इनिशा विकको घटनाले समाजलाई तरंगित बनाएको हो । 

यसैबीच, कर्णाली प्रदेशमा पछिल्ला पाँच वर्षमा बलात्कारका घटना बढ्दो क्रममा देखिएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार कर्णालीका १० जिल्लामा पाँच वर्षको अवधिमा ८ सय ५२ वटा बलात्कारका घटना भएका छन् भने बलात्कारपछि ८ जनाको हत्या भएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यस्ता घटना धेरै समयसम्म लुकेर बस्न नसक्ने हुँदा उजुरीको संख्या बढेको देखिएको हो ।