संघीय संसदका दुवै सदनका १६ वटा समितिले पाए पूर्णता
- काठमाडौंसंघीय संसदका दुवै सदनका समितिहरुले पूर्णता पाएका छन् । विगतमा संसदीय समिति गठन गरी नेतृत्व चयन गर्न महिनौसम्म लाग्ने अवस्था रहँदै आएकोमा यो पटक नयाँ सदनको पहिलो बैठक बसेको १६ दिनपछि समितिले सभापति पाएका छन् । दुई वटा संयुक्तसहित १२ वटा समितिमध्ये ४ वटामा महिला सांसद सभापति भएका छन् । मिनि संसदको रुपमा लिइने समितिले छोटो समयमा नै पूर्णता पाउनुलाई संसदको प्रभावकारितातर्फको महत्वपूर्ण कदम मानिएको छ ।
२०१५ सालको आम निर्वाचनपछि गठित संसदबाटै नेपालमा पनि संसदीय समितिको परिकल्पना गरिएको थियो । सदनको दैनिक कार्य सञ्चालनमा सहयोग पु¥याउन, जनप्रतिनिधिलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न गराउने उद्देश्यले संसदीय समितिको परिकल्पना गरिएको पाइन्छ । कानून बनाउने, संसदीय अनुगमन गर्ने र संसदीय सुनुवाइमा समितिहरुको भूमिका महत्वपूर्ण मानिन्छ । त्यस्तै प्रतिनिधिसभा नियमावली २०७९ मा प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न, समितिहरुको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न गठन गरिएको उल्लेख छ ।
त्यस्तै, संसदीय प्रणाली अवलम्बन गरेका देशहरुमा संसदले कानुन निर्माणजस्ते महत्वपूर्ण र जिम्मेवार भूमिका निर्वाह गर्दछ । संसदको कार्यप्रणालीमा सहयोग पु¥याउने एवम् सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउने भूमिकाका लागि मिनी संसदसमेत भनिने संसदीय समितिहरु गठन गरिन्छन् । सरकारलाई निर्देशन तथा राय, सल्लाह दिनुका साथै राज्यका अन्य निकायका कामकारबाही अध्ययन, अनुगमन गरी सचेत गराउने ध्यानाकर्षण गराउने काम पनि संंसदीय समितिले गर्दै आएको छ ।
संघीय संसदको नियमित कार्यमा सहयोग पु¥याउन,सरकारलाई संघीय संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक राय, सल्लाह वा निर्देशन दिन समेत समिति गठन गरिएको हो । र, संघीय संसदका १२ वटा समितिले नेतृत्व पाएका छन् । रास्वपाका ११ जना सांसद र कंग्रेस एक जना सांसद सभापति चयन भएका हुन् । शुक्रबार निर्वाचीत भएसँगै उनीहरुले सभामुख डोलप्रसाद अर्यालबाट पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।
प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग समिति सभापतिमा रहवर अन्सारी निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध भएका थिए । निर्विरोध भएकामध्ये सार्वजनिक लेखा समितिका सभापति खड्काबाहेक सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् । खड्का नेपाली कांग्रेसका सांसद हुन् । निर्वाचित भएपछि समिति सभापतिहरुले प्रतिवेदन र सुझावका रुपमा मात्र नथन्किएर कार्यान्वयनमा समेत जाने र ढिलासुस्ती नभइ छिटो छरितो ढंगमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आर्थिक सुशासन र वित्तीय अनुशासन कायम राख्ने गरी काम गर्ने बताए। सञ्चाकर्मीसँग बोल्दै खड्काले आफू जिम्मेवार भएर काम गर्ने बताए ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा निर्वाचित भएकी रास्वपाकी सांसद डा. ओजस्वी शेरचनले पक्ष र विपक्षी भन्दा पनि समग्र रुपमा समन्वय गरेर अगाडी बढ्ने बताइन् ।
त्यस्तै, उद्योग समितिको सभापतिमा निर्वाचित भएका रहबर अन्सारीले प्रतिवेदन र सुझाव मात्र सार्वजनिक गर्ने समिति नभएर समाधान गर्ने रुपमा अगाडी बढ्ने बताए।
दुवै सदनको प्रतिनिधित्व रहने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की निर्वाचित भए । शुक्रवार निर्वाचित भएका सभापतिमध्ये ४ जना महिला छन् । यो सँगै प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी १६ वटा संसदीय समितिमध्ये ६ वटाको नेतृत्वमा महिला पुगेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समिति छन् ।
यसमध्ये दुई सभापतिमा महिला र दुई सभापतिमा पुरुष सभापति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्ती देवी राई छन् । विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्ण बहादुर रोकाय छन् । छोटो समयमै संसदीय समितिहरुले पूर्णता पाउनु र नेतृत्व चयन हुनु संसदको प्रभावकारी सञ्चालनतर्फको महत्वपूर्ण कदम मानिएको छ ।