आङ्देम्बे संसदीय दलको नेता बन्दा कांग्रेसभित्र सकारात्मक सन्देश
- काठमाडौंनेपाली कांग्रेसले झन्डै एक महिनाको प्रयासपछि संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेको छ । इतर पक्षका नेता मानिएका आङ्देम्बेलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाएर कांग्रेसले पार्टीभित्र एकताको सन्देश दिएको छ ।
संसदका अन्य दलले संसदीय दलको नेता चयन गरिसकेपनि कंग्रेसले समयमा दलको नेता चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । विशेष महाधिवेशन आयोजना भएयता आन्तरिक किचलोमा फसेको कांग्रेसले नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बसेको झण्डै एक महिनापछि आफ्नो दलको नेता चयन गरेको हो । लामो रस्साकस्सीपछि कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटायो र संसदीय दलले त्यसलाई अनुमोदन गरेको छ ।
यसअघि मोहन आचार्य र अर्जुननरसिंह केसीको नामसमेत चर्चामा रहे पनि अन्तिममा आङ्देम्बेको नाममा सहमति जुटेको हो । केसी, आङ्देम्बे र मोहन आचार्यले दाबी गरेका कारण कांग्रेसले दलको नेता चयन गर्न सकस भएको थियो । आङ्देम्बेलाई पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको समेत समर्थन भएको बताइएको छ ।
उनलाई सर्वसम्मतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माले पनि सक्रियता देखाएका थिए । शर्मा बाहेक अर्का उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरे सर्वसम्मतिबाटै संसदीय दलको नेता चयनका लागि छलफलमा जुटेका थिए । संसदीय दलको नेता चयन गर्न ढिलाई भएको भन्दै चौतर्फी आलोचना भइरहँदा परिपक्व निर्णयका लागि सर्वसम्मती चयन गर्ने निर्णय भएको कांग्रेस सभापति गगन थापाको भनाई छ ।
र्निवाचित आङदेम्बेले नेपाली कांग्रेसको मुल आर्दश, सिद्धान्त र राष्ट्रिय आवश्यकता र सिंगो पार्टी पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने थापाले विश्वास व्यक्त गरे । २०२० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ मा जन्मेका आङदेम्बे २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उभिएका थिए। त्यसपछि भएका विभिन्न आन्दोलनमा सक्रिय रहे । उनले नेपाल विद्यार्थी संघ, तरुण दल र कांग्रेसका विभिन्न पदमा रहेर जिम्वेवारी निर्वाह गरिसकेका छन् ।
त्यस्तै २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै उनी अग्रपंक्तिका युवा नेताका रूपमा स्थापित भए । सोही आन्दोलनले देशमा बहुदलीय लोकतन्त्र पुनःस्थापना ग¥यो, जसमा आङ्देम्बेको सहभागिता उल्लेखनीय रहृयो। आन्दोलनका क्रममा उनी पक्राउ समेत परेका थिए । २०४६ देखि २०५२ सालसम्म नेविसंघको केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित हुँदै उनले संगठन निर्माण, कार्यकर्ता परिचालन र लोकतान्त्रिक मूल्यको विस्तारमा महत्वपूर्ण भूमिका खेले । यही अवधिमा उनले नेतृत्व र क्षमता विकास गर्दै पार्टीमा अलग पहिचान बनाउन सफल भए ।
आङ्देम्बे २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बने । यो जिम्मेवारीले उनलाई कांग्रेसभित्र युवा पुस्ताको प्रभावशाली नेताका रूपमा स्थापित ग¥यो । २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा राजतन्क्रविरुद्ध सत्रिय सहभागिता जनाउँदै उनी पुनः सडक संघर्षमा समाहित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए ।
संसदीय राजनीतिमा उनको त्यो प्रवेश पहिलो थियो । २०७८ मा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट आदिवासी जनजातितर्फ केन्द्रीय सह–महामन्त्रीमा निर्वाचित हुँदै उनी पार्टीको शीर्ष नेतृत्वमा पुगे । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्दा पुनः एमालेका वसन्तकुमार नेम्वाङसँग ४६ मतको झिनो अन्तरले पराजित भए । यसपटक कांग्रेसले उनलाई आदिवासी जनजाति कोटाबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पु¥याएको हो । यसअघि कांग्रेसमा निर्वाचनमार्फत् संसदीय दलको नेता चयन हुने भएपनि यसपटक सर्वसम्मत निर्वाचित भएपछि आङ्देम्बेले प्रक्रिया ढिलाइ भएपनि सुखद् निष्कर्ष भएको बताए ।
गत पुसमा तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा सहमहामन्त्री रहेका आङदेम्बे विशेष महाधिवेशनको विपक्षीमा रहेपनि दलको नेता बनाएर कंग्रेसले पार्टीभित्र एकताका लागि सकारात्मक सन्देश दिएको छ । र्निविरोध निर्वाचित भएपछि आङदेम्बेले आफुहरु संख्यामा कम भएपनि संसदीय गतिविधि र लोकतान्त्रिक विचारमा परिपक्व भएको बताए ।
प्रतिनिधि सभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद छन् । प्रमुख प्रतिपक्षी दलको नेता समेत हुने भएकाले कंग्रेस संसदीय दलको नेता चयनलाई चासोपूर्वक हेरिएको थियो । कंग्रेसका नेताहरु अनुसार पार्टीको इतिहासमा जनजाति नेतालाई पहिलो पटक संसदीय दलको नेता बनाइएको हो । आङदेम्वे अब संवैधानिक निकायको नियुक्ति गर्ने संवैधानिक परिषद्को सदस्य पनि रहनेछन् ।