विश्लेषण

स्मार्टफोनको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा असर पार्ने

- पुजनी श्रेष्ठकाठमाडौं

प्रविधिको तीव्र विकाससँगै नेपालमा पनि स्मार्टफोन प्रयोगकर्ता दिन प्रतिदिन बढिरहेका छन् । भन्सार विभागको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको नौ महिनामा ३३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन नेपाल भित्रिएका छन् ।

यो तथ्याङ्कले नेपालमा स्मार्टफोनप्रतिको आर्कषण बढ्दै गएको देखाउँछ । तर स्मार्टफोनको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा पर्ने असरलाई ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

स्मार्टफोनको प्रयोग अब हरेकजसो व्यक्तिको दैनिकी जस्तै बनेको छ । फोनको सदुपयोग मात्र नभई दुरुपयोग समेत भइरहेका छन् । त्यस्तै, धेरै समय स्क्रिन हेर्दा आँखामा समस्या हुने, मोबाइलमा खेल, भिडियो, सामाजिक सञ्जालमा बढी समय बिताउँदा पढाइमा ध्यान कम जाने, राति अबेरसम्म मोबाइल चलाउँदा निद्रा नलाग्ने वा राम्रोसँग ननिदाउने समस्या, रिसाउने, चिडचिडापन, एक्लै बस्न मन लाग्ने जस्ता व्यवहार देखिन सक्छन् । सबैभन्दा बढी समस्या आँखामा पर्ने गरेको बताउँछिन् काठमाडौंको तिलगंगा आँखा अस्पतालकी चिकित्सक श्रृजना अधिकारी ।

स्मार्टफोनको सहि प्रयोग गरियो भने यसले शैक्षिक भिडियो, एप्स र इन्टरनेटबाट नयाँ कुरा सिक्न सजिलो हुनुका साथै बालबालिकाले डिजिटल सीप सिक्न सक्छन् ।

कम्युनिकेशन, इन्टरनेट र मनोरञ्जन मोबाइल प्रयोग बढाउने मुख्य कारण हुन् । यसको सकारात्मक र नकारात्मक दुवै पक्ष भएको बताउँछन् स्मार्ट फोन प्रयोगकर्ता पुजन श्रेष्ठ ।

मोवाइल फोनको ज्यादा प्रयोगले स्वास्थ्यमा मात्र नभई सामाजिक पक्षलाई पनि प्रभावित गरिरहेको छ । मोबाइलसँग समय बढी बिताउने व्यक्तिमा सामाजिक असर पर्ने गरेको मनोविद् जितेन राई बताउँछन् ।

मोबाइलको उपयोग आवश्यक छ, तर यसको अति प्रयोग समस्या बन्दै गएको छ । यस्ता समस्याबाट टाढिन मोबाइलको समय सिमित गर्ने, मोबाइल बिना समय बिताउने कोसिश गर्ने, खेलकुद, पढाइ, बाहिरि गतिबिधि बढाउने, राति सुत्नु अघि मोबाइल प्रयोग कम गर्न सकिन्छ ।

मोबाइल प्रयोगमा समय व्यवस्थापन गर्न सके यो समस्याको समाधान भने गर्न सकिन्छ । बालबालिकासँगै अभिभावकहरुले पनि नियम र निगरानी गर्न सके, प्रविधिको सहि उपयोगबारे जनचेतना फैलाउन सके मोबाइलको लत घट्दै जाने विज्ञहरुको भनााइ छ ।

यसैबीच, नेपालमा मोवाइल फोनको प्रयोग बढेसँगै यसको आयात ह्वात्तै बढेको पाइन्छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको नौ महिनामा मोबाइल फोन आयातमा उल्लेख्य वृद्धि भएको हो ।

विभागका अनुसार समीक्षा अवधिमा ३३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी मूल्यका १६ लाख ७४ हजारभन्दा बढी थान स्मार्टफोन नेपाल भित्रिएका छन् ।

यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ८९ हजार थान बढी हो । गत वर्ष सोही अवधिमा २५ अर्ब ३८ करोड रुपैयाँ बराबरका करिब १५ लाख ८५ हजार थान मोबाइल आयात भएको थियो ।

चालु आर्थिक वर्षको चैत महिनामा मात्रै १ लाख ४५ हजारभन्दा बढी थान स्मार्टफोन आयात हुँदा करिब ३ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ । प्रमुख आपूर्तिकर्ता देश चीनबाट मात्रै १४ लाखभन्दा बढी थान मोबाइल आयात हुँदा २५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी बराबरको कारोबार भएको छ ।

मोबाइल आयातमा आएको वृद्धिले देशको राजस्व संकलनमा भने सुधार देखिएको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले बताए ।

प्रविधिको विकाससँगै मोबाइल प्रयोगकर्ता बढ्नु स्वभाविक हो । यो आफैं खराब होइन, तर यसको प्रयोग कति, कसरी र कति समय गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

प्रविधिको सहि उपयोगले मात्र जीवन सहज बनाउँछ, गलत प्रयोगले समस्या बढाउँछ ।