भारत भ्रमण : के रविको विकास कूटनीतिले सार्थकता पाउला ?
सुनिता लोहनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमण पूरा गरी स्वदेश फर्के लगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल पनि शुक्रबार तीन दिने भारत भ्रमणमा निस्केका छन् । उनी आइतबार स्वदेश फर्किदैछन् । सत्तारुढ पार्टीका सभापतिको हैसियतमा भारत भम्रण गरेका लामिछानेलाई भारतीय जनता पार्टी भाजपाले गरेको विशेष आतिथ्यताले क्षेत्रीय कूटनीतिक वृत्तमा चासो र महत्वका साथ हेरिएको छ । सत्तारुढ दल रास्वपाको लगातारको भारत भ्रमणलाई भाजपा र नरेन्द्र मोदी सरकारले दिएको महत्वलाई लिएर चौतर्फी बहस भएको छन् ।
भनिन्छ, कूटनीतिमा भ्रमण, अभिव्यत्ति, लिएका अडान मात्र नभएर लगाएका पहिरन र खाएका विषयले समेत महत्व पाउँछ । यस्तै, हालै भएको भ्रमणका दौरान रास्वपा सभापति रवि लामिछानेलाई दिल्लीमा दिइएको उच्चस्तरीय सम्मानले अहिले काठमाडौँको कूटनीतिक र राजनीतिक वृत्तमा तरंग ल्याएको छ । जेठ १९ देखि २२ सम्म पाँच दिने भारत भ्रमण गरेर स्वदेश फर्केका लामिछानको भ्रमणलाई लिएर विभिन्न कोणबाट बहस भइरहेका छन् । सभापति लामिछानको भारत भ्रमण सकारात्मक रहेको र दुई देशबीच रही आएको बहुआयामिक सम्बन्धलाई थप मजबुत् बनाउन मद्दत पुग्ने भारतका लागि पूर्व राजदूत निलाम्बर आचार्यको भनाइ छ ।
भाजपाका अध्यक्ष नितिन नवीनको निम्तोमा सभापति लामिछाने सोमबार नयाँदिल्ली पुगेका थिए । भारतको सत्तारुढ दलकै निमन्त्रणामा उनी त्यहाँ पुगेको र भ्रमणका दौरान उनले प्रधानमन्त्री सरह पाएको भव्य स्वागत र सम्मानले विशेष अर्थ बोकेको विश्लेषण भइरहेका छन् । त्यसो त परम्परामा क्रमभंगता गरिरहेको सत्तारुढ दल रास्वपाले वैदेशिक भ्रमणमा पनि क्रमभंगता गरेको छ । यसअघि प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने चर्चा चलेपनि कूटनीतिक शिष्टाचार कायम राख्ने सवालमा एक वर्षसम्म कतै पनि भ्रमणमा नजाने स्वघोषित बन्देज, प्रधानमन्त्री शाह र लामिछानेबीचको सम्बन्ध, सीमा विवादबारे संसदमा उनले दिएको अभिव्यक्ति र भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न प्रधानमन्त्री शाहले गरेको इन्कारलाई लिएर कूटनीतिक वृत्तमा अनेकौं अर्थ र अड्कलबाजीकाबिच लामिछानेलाई दिल्लीले यस्तो सम्मान दिएको बुझिएको छ । मंगलबार पण्डित दीनदयाल उपाध्याय मार्गस्थित भाजपाको मुख्यालयको प्रांगणमा प्रवेश गर्न लागेका सभापति लामिछानेलाई फूलको वर्षा सहित भव्य स्वागत गरिएको थियो । भाजपाका राष्ट्रिय अध्यक्ष नवीन तथा अन्य वरिष्ठ भाजपा नेताहरूले उनलाई स्वागत गरेका थिए । भाजपाले आफ्नो मुख्यालयमा विदेशी नेताहरूलाई यसरी भव्य स्वागत गरेको यो एकदमै दुर्लभ क्षण भएको जानकारहरु बताउँछन् । यसअघि, यस्तै भव्य स्वागत २०६३ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पाएका थिए । उनलाई तत्कालिन प्रधानमन्त्री डा. मनमोहन सिंहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आफैँ पुगेर स्वागत गरेका थिए । तर उनी त्यसबेला सरकार प्रमुख थिए । त्यसैले उनले पाएको सम्मान स्वभाविक मानिएको थियो । त्यसपछि पार्टी अध्यक्षकै हैसियतमा पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न मानेका थिएनन् । यस्तै, शेरबहादुर देउवा प्रयागराज जाँदा मोदीलाई भेट्न खोज्दा सम्भावना नदेखिएपछि भ्रमण नै रद्द गरिएको थियो । यसअघि केपी ओलीको पालामा भारतसँग सम्बन्ध सुधार्न उनको भ्रमणको लागि तत्कालिन परराष्ट्रमन्त्री आरजु राणाले पहल गर्दा पनि भ्रमण हुन सकेन । भारतले ओलीलाई निमन्त्रणा नै दिन मानेन । यस्तोमा रास्वपा सभापति लामिछानेलाई दिएको महत्वलाई लिएर विभिन्न कोणबाट बहस हुनु स्वाभाविक हो । भारतका लागि पूर्व राजदूत एवम् विश्लेषक लोकराज बराल सभापति लामिछानेलाई भारतमा गरिएको सम्मानलाई उदीयमान शक्तिलाई शक्ति राष्ट्रले दिएको महत्व रुपमा टिप्पणी गर्छन् ।
भारतले लिपुलेक हुँदै मानसरोवर यात्रा सुरु गरेको र सुस्तामा सीमा मिचेको विषयले संसदमा विपक्षी दलले मुखरित भएर मुद्दा उठाइरहेका बेला भएको सभापति लामिछानको भ्रमणमा उनले भने विकास कूटनीतिलाई प्रमुख एजेन्डा बनाएका थिए । दिल्ली भ्रमणको पटाक्षेपमा दी हिन्दुस्तान टाइम्समा छापिएको लेखमा उनले विकास कूटनीतिको विषयलाई महत्व दर्शाउदा नेपाल भारतसँग सीमा विवादजस्ता मुद्दाबाट भन्दा आर्थिक विकासलाई मान्यता दिन खोजेको स्पष्ट देखिन्छ । भ्रमणका दौरान गृहमन्त्री अमीत शाह, विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत वार्ता गरेका लामिछानेले भारतको नयाँ शक्ति प्रतिको संशयलाई चिर्दै नयाँ शिराबाट नेपालको सम्बन्ध स्थापित गर्न खोजेको देखिन्छ । यद्यपि, स्वदेश फर्केपछि सीमा विवाद जस्तो विषयमा नेपालको अडान किन नराखेको भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले भने, “कूटनीति ढोल बजाएर गरिने विषय होइन ।”
यद्यपी, दुई मुलुकबीच भएका भेटवार्ताका विषय तथा एजेन्डा सबै सार्वजनिक गर्नुपर्छ भन्ने नभएको समेत बताउने गरिन्छ । ंकूटनीतिक अभ्यास सबै बाहिर सार्वजनिक नगरेपनि कतिपय छलफलमा भएका महत्वपूर्ण विषय भने सार्वजनिक गर्दा राम्रो हुने विश्लेषकहरुको भनाइ छ । सभापति लामिछानेको भ्रमण केवल दलको नेताको भ्रमण मात्र होइन, त्यसले भविष्यमा हुने सन्धि सम्झौताको आधार पनि तयार पार्न सक्छ । इपिजि कार्यदलका सदस्यसमेत रहेका विश्लेषक आचार्य भन्छन्, “द्विपक्षीय भेटमा छलफल भएका सबै विषयको जानकारी नदिएपनि के कस्ता एजेण्डामा छलफल भए भन्ने जानकारी दिनुपर्छ । सर्वसाधारणले त्यसको बारेमा जानकारी पाउनुपर्छ ।”
सत्तारुढ दल भाजपा र मोदी सरकारले लामिछानेलाई दिएको महत्वले रास्वपा मात्र होइन, नेपाल र नेपाली जनताको पनि सम्मान गरेको कतिपयको बुझाइ छ । त्यसो त भारत रास्वपा पार्टीसँग सम्बन्ध विस्तार गर्न मात्र होइन, सरकारसँग सम्बन्ध पनि विस्तार गर्न चाहेको स्पष्ट बुझिन्छ । सभापति लामिछानेको स्वदेश फिर्तासँगै परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणले गहकिलो अर्थ बोकेको छ । जसमा केही महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ । यी भेटवार्ताहरुले भाजपा उदयमान नेपालको नयाँ शक्तिसँग कूटनीतिक सम्बन्ध विस्तार गर्न चाहेको प्रष्ट देखिन्छ । यसले पछिल्लो समय नेपाल–भारतबीचको देखिएको सम्बन्धको गतिरोधको अन्त्य गर्न मार्ग प्रशस्त गरेको छ । जेनजी आन्दोलन र लोकप्रियतावादबाट सत्तामा आएको रास्वपाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि दर्शाउन चालेको यो कूटनीतिक पहलले यसको छवि परिपक्व देखाएको छ । नेपालले अँगालेको असंलग्न परराष्ट्र नीति, प्रो–नेपाल छवि, भारतसँगका सीमा विवाद ऐतिहासिक दस्तावेजलाई आधार मानेर सल्ट्याउने जस्ता विषयले नेपाल–भारतको बिग्रेको सम्बन्धमा सुधारोन्मुख हुने मार्ग प्रशस्त गरेको बताइन्छ । अर्कोतर्फ सभापति लामिछानेलाई दिएको स्वागत र महत्वले भारतले शाहलाई दक्षिणतर्फको छिमेकीलाई ध्यान दिन दिएको दबाबको रुपमा समेत हेरिएको छ । यसले प्रधानमन्त्री शाह र सभापति लामिछानबीच देखिएको कूटनीतिक अभ्यासलाई समेत चर्चामा ल्याएको छ ।