विश्लेषण

एनपीएल अक्सनपछि कसको टोली कति बलियो ?

- पुजनी श्रेष्ठकाठमाडौं

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तेस्रो संस्करणका लागि सम्पन्न मिनी अक्सनले फ्रेन्चाइज टोलीहरूको नयाँ समीकरण तय गरेको छ । राष्ट्रिय टोलीका विकेटकिपर तथा ओपनर आसिफ शेखलाई लुम्बिनी लायन्सले भित्र्याएपछि साविक विजेता टोली थप बलियो बनेको छ ।

अक्सनमा आसिफ सर्वाधिक चर्चामा रहँदा लुम्बिनीले सबैभन्दा बढी रकम खर्च गरेको छ भने जनकपुर, चितवनसहित अन्य टोलीहरूले पनि आवश्यक खेलाडी अनुबन्ध गर्दै आफ्नो टोलीलाई नयाँ स्वरूप दिएका छन् । यस वर्ष नेपाली खेलाडीको संख्या बढाइएसँगै टोली निर्माणमा पनि नयाँ रणनीति देखिएको छ ।

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार सम्पन्न मिनी अक्सनले सबैभन्दा बढी चर्चा नेपाली राष्ट्रिय टोलीका विकेटकिपर तथा ओपनिङ ब्याटर आसिफ शेखको नाममा केन्द्रित भएको छ । जनकपुर बोल्ट्सबाट रिलिज भएका आसिफलाई अन्ततः लुम्बिनी लायन्सले आफ्नो टोलीमा भित्र्याएको छ ।

यससँगै साविक विजेता लुम्बिनी लायन्स आगामी सिजनका लागि थप सन्तुलित र बलियो टोलीका रूपमा प्रस्तुत हुने देखिएको छ ।

दुई वर्षअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन निर्णायक भूमिका खेलेका आसिफले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए । तर दोस्रो संस्करणमा उनको प्रदर्शन अपेक्षाअनुसार हुन नसक्दा जनकपुर अंकतालिकाको पुछारमा सीमित भयो । त्यतिबेला एनपीएलका आठवटै फ्रेन्चाइज टोलीका मार्की खेलाडीमध्ये कप्तानीको जिम्मेवारी नपाउने एकमात्र खेलाडी पनि आसिफ नै थिए ।

तेस्रो संस्करणअघि जनकपुरबाट रिलिज भएका आसिफ अक्सनमा पुगे । मार्की सूचीबाट बाहिरिएकाले उनी ’ए’ श्रेणीमा परेका थिए । नियमअनुसार उनको बोली १० लाख रुपैयाँबाट सुरु भएर १५ लाख रुपैयाँसम्म पुग्न सक्ने अवस्था थियो । तर नेपाल क्रिकेट संघ क्यानले उनको न्यूनतम पारिश्रमिक नै १५ लाख र अधिकतम २० लाख रुपैयाँ निर्धारण गरेपछि उनी मार्की खेलाडीसरहको मूल्यमा पुगे ।

आसिफप्रति फ्रेन्चाइजहरूको आकर्षण निकै देखियो । चितवन राइनोजबाहेक अन्य सातवटै टोलीले उनको लागि अधिकतम २० लाख रुपैयाँको बोली लगाए । पुरानो टोली जनकपुर बोल्ट्सले पनि उनलाई फर्काउने प्रयास गरेको थियो । सबै टोलीले समान रकम प्रस्ताव गरेपछि ’लक्की ड्र’ मार्फत आसिफ लुम्बिनी लायन्समा पुगे । लुम्बिनीले जनकपुरबाट रिलिज भएका किशोर महतोलाई पनि १० लाख रुपैयाँको आधार मूल्यमा अनुबन्ध गरेको छ ।

साविक विजेता लुम्बिनी लायन्सले अक्सनमा सबैभन्दा बढी ४४ लाख रुपैयाँ खर्च गरेको छ । टोलीले दुर्गेश गुप्ता र आकाश त्रिपाठीलाई जनही ५ लाख रुपैयाँमा अनुबन्ध ग¥यो भने अरनिको यादव र अजय चौहानलाई २–२ लाख रुपैयाँमा टोलीमा समावेश गरेको छ । रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले यसअघि नै सन्दीप जोरा, शेर मल्ल, दिलीप नाथ, तिलक भण्डारी, दिनेश अधिकारी र अभिशेष गौतमलाई रिटेन गरिसकेको थियो ।

अक्सनमा दोस्रो धेरै खर्च गर्ने टोली जनकपुर बोल्ट्स रह्यो । जनकपुरले कुल ४१ लाख २५ हजार रुपैयाँ खर्च गर्दै पोखरा एभेन्जर्सबाट रिलिज भएका ’ए’ श्रेणीका तृतराज दासलाई १५ लाख रुपैयाँमा अनुबन्ध ग¥यो । तृतराज पनि धेरै टोलीको रोजाइमा परेपछि ’लक्की ड्र’ मार्फत जनकपुर पुगेका हुन् ।

यसका साथै जनकपुरले अमरसिंह रौटेला, अभिषेक तिवारी र विशाल पटेललाई जनही ५ लाख रुपैयाँ, रीत गौतमलाई ४ लाख २५ हजार रुपैयाँ, सन्तोष कार्कीलाई ३ लाख रुपैयाँ तथा आशुतोष पाण्डे र विशाल सुस्लिङलाई जनही २ लाख रुपैयाँमा टोलीमा भित्र्याएको छ ।

गत सिजन चोटका कारण प्रतियोगिता गुमाएका विवेक यादव यस पटक चितवन राइनोज पुगेका छन् । उनलाई पनि १५ लाख रुपैयाँमा ’लक्की ड्र’ मार्फत चितवनले अनुबन्ध गरेको हो । चितवनले कुल २६ लाख रुपैयाँ खर्च गर्दै मौसम ढकाललाई ३ लाख रुपैयाँ तथा अशोक धामी, विपिन रावल, गौतम केसी र सलाउद्दिन खानलाई जनही २ लाख रुपैयाँमा टोलीमा समेटेको छ ।

१५÷१५ लाख रुपैयाँमा अनुबन्ध हुने अन्य खेलाडीमा तीव्र गतिका बलर रुपेशकुमार सिंह र विकेटकिपर ब्याटर अर्जुन घर्तीमगर रहेका छन् । रुपेशलाई विराटनगर किंग्सले तथा अर्जुनलाई पोखरा एभेन्जर्सले आफ्नो टोलीमा भित्र्याएका छन् ।

कर्णाली याक्सले रिलिज गरेको दुई खेलाडी विपिनप्रसाद शर्मा र दीपेन्द्र रावतलाइ अक्सनमार्फत भित्रायो । यसबाहेक शुभ कंशाकार, सूर्य तामाङ, दिवन पुन र सचिन शर्मा पनि कर्णालीमा भित्रिए ।

सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, दीपक डुम्रे, पवन सर्राफ, युनिश विक्रम ठाकुरी र युवराज खत्रीलाई कर्णालीले यसअघि नै रिटेन गरिसकेको छ । कर्णालीले शुभलाई सबैभन्दा धेरै १० लाख रुपैयाँ खर्चे ।

दुईपटक नै उपविजेता बनेको सुदूरपश्चिमले आफैले रिलिज गरेका ३ खेलाडी दीपक बोहरा, मिलन बोहरा र टेक रावतलाई पुनः टोलीमा अनुबन्ध गरेको छ । यीबाहेक अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई पनि सुदूरपश्चिमले भित्राएको हो ।

कम बजेटसहित अक्सनमा प्रवेश गरेको काठमाडौं गोर्खाजले भने १७ लाख रुपैयाँ खर्च गरेको छ । टोलीले साहिल पटेललाई ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ भने प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, देव साह र सूर्यांशु कोइरालालाई जनही २ लाख रुपैयाँमा टोलीमा समेटेको छ ।

यस वर्ष क्यानले प्रत्येक फ्रेन्चाइजमा नेपाली खेलाडीको संख्या १२ बाट बढाएर १४ पु¥याएको छ। यसअनुसार प्रत्येक टोलीले अक्सनबाट १२ जना नेपाली खेलाडी लिनुपर्ने व्यवस्था गरिएको थियो। अधिकांश टोलीले पाँचदेखि सात खेलाडी रिटेन गरेका कारण बाँकी आवश्यक खेलाडी बजेटअनुसार अक्सनबाट छनोट गरेका हुन् ।

सबैभन्दा बढी आठ खेलाडी जनकपुर बोल्ट्सले अक्सनमार्फत अनुबन्ध गरेको छ । अब सबै टोलीले नयाँ संरचना तयार गरिसकेका छन् । तेस्रो संस्करणको एनपीएल आगामी असोज–कात्तिकमा आयोजना हुने भनिए पनि क्यानले मिति भने घोषणा गरेको छैन ।