कोरोनाकालमा परेको ‘ब्रजपात’
- रुपन्देहीघरमै हुनुहुन्छ कि, बुबा (ससुरा) ले बोलाई पो हाल्नुहुन्छ कि, पटकपटक उहाँको आवाज कानमा गुन्जिन छाडेको छैन । उहाँ कोठामै आराम गरिरहेको भान पर्छ । त्यसलाई सहनु बाहेक हामीसित विकल्प छैन । कोरोना महामारीको सुरुवातदेखि त्यसले समाजका विभिन्न क्षेत्रमा पारेका प्रभावबारे समाचार लेख्दै आए ।
समाचारमा धेरै सर्वसाधरणका ‘आँशु’ पोखिन्थे । त्यस्ता पीडाका खबर बुबा पढ्नुहुन्थ्यो र ‘कोरोना भारइरसलाई पापी’ भन्नु हुन्थ्यो । त्यही भाइरसले ससुरा बुबालाई हामीबाट खोसेको १६ औं दिनमा बल्लतल्ल आँट जुटाएर डायरी लेख्न थालें । आँशु देखिनेगरी नझरोस् भनेर मनमनै रुदै औंलाले ल्यापटपको किबोर्डमा अक्षर दबाईरहेँ । धेरै प्रयास गरियो । ‘कोरोनाले केही हुन्न’ सुरुमा मलाई पनि त्यस्तै लाग्थ्यो । यही कोरोनाले मेरो परिवारमा ठूलो बज्रपात पर्यो । जुन सहने हिम्मत पलाउन धेरै वर्ष लाग्ने छ ।
गत कात्तिक २७ गते साँझ श्रीमान (अमृत पाण्डे) घर आएलगत्तै आफूलाई स्वास्थ्यमा असहजता भएको र ज्वरो आउन थालेको कुरा बताउनुभयो । एकाएक उहाँलाई ज्वरो आयो । खाना खाएर सुतेलगत्तै ६ वर्षको छोरालाई समेत हनहन्ती ज्वरो आउन थाल्यो । म रातभरि बाबुलाई कुरेर बसिरहेँ । श्रीमानलाई बहिनी (नन्द) र आमाबुबाले ख्याल गर्नुभयो । २८ गते बिहानदेखि मलाई पनि केही असहज हुँदै गयो । ज्वरो आयो । खोकी लाग्न थाल्यो । मौसममा परिवर्तन हुने बेला भएको र मुखको स्वाद नगएकाले सामान्य भाइरल होला भन्ने सोंच्यौं । त्यस अवधिसम्म ‘क्वारेन्टाईन’मा बस्न थालिसकेका थियौं । ज्वरो आइरहने, शरीर दुख्ने र खोकी लागिरहने भएपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण लागेर हामीले पीसीआर परीक्षण गर्ने निधो गर्यौं ।
कात्तिक ३० गते सहकर्मी र परिचित चिकित्सकको सहयोगले हाम्रो पीसीआर परीक्षण भयो । यस परीक्षणमा म र श्रीमान सहभागी भएका थियौं । मेरो माइतीघर बुटवलमा हामी बस्ने घरदेखि करीब १५ मिनेटको दूरीमा छ । मामाघर गइरहने छोरा धेरै दिनदेखि घरमै भएकाले मामाघर जाने चाहना गर्न थाले । उनलाई लिन बुुबा आउनुभयो । हामी पीसीआर परीक्षण गरेर आए लगत्तैबाट क्वारेन्टाईनमा बस्न थाल्यौं । माइतीघर पुग्ने बित्तिकै बाबुलाई ज्वरो आएको खबर आमाले फोन गरी बताउनुभयो । हामी नतिजा पर्खाईमा थियौं । नतिजा पोजेटिभ आयो । मनमा एक किसिमको बज्र पसेजस्तो भयो । आँशुका धारा बगे ।
घरका अन्य सदस्यले हामीलाई नआत्तिन र कोठामै सबै सुविधा हुने भएकाले आराम गरेर बस्न सुझाउनुभयो । सबैबाट जोगिएर बस्न थाल्यौं । असहजता कायम थियो । कोठामा एटेच बाथरुम र शौचालय भएकाले सहजता महसुस भयो । यसले अरु सदस्यलाई सर्ने डर समेत कम गर्यो । सहकर्मी, अग्रज र माइतीलाई फोनमा पोजेटिभ आएको बतायौं । सबैको हौसला पाउन थाल्यौं । कोरोनाका धेरै समाचार लेखिरहेकी मैले के गर्न हुने, के नगर्ने भन्ने विषयमा अनुभव बटुलिसकेका साथी र चिकित्सकबाट निरन्तर सुझाव लिइरहेकी थिएँ । हामी पोजेटिभ भएको अर्कोे दिन माइतीमा रहेको छोरो, आमा र बुबाको परीक्षण भयो ।
दिनभरि नतिजाको पर्खाइमा बस्यौं । साँझ बाबु र बुबाको पोजेटिभ र आमाको नतिजा नेगेटिभ आयो । पीडा थपियो । मलाई छोरोको चिन्ताले सताउन थाल्यो । तर म आफै संक्रमित भइसकेकाले घरबाहिर निस्कन सकिन । आमालाई बाबु र बुबासँग टाढा रहेर सेवा गर्न सुझाएंँ । तर हजुरआमाको मन के मान्थ्यो, बाबुलाई खुवाइदिने, लुगा फेरिदिने देखि सबै कार्य गरिरहनुभयो । बुबाका लागि समेत उहाँले निर्धक्क सेवा गर्नुभयो । यता घरमा आमा, बुबा र नानीले हाम्रो हेरचाहमा कमी राख्नुभएन । उहाँहरुको व्यस्तता यति बढ्यो कि रातिमा सुत्ने समय पनि ३ घण्टा मात्रै हुनथाल्यो । योगा, व्यायाम, आयुर्वेदिक जडीबुटी, चिकित्सकले सुझाएका ओखती, खानपान हामी दिनचर्या बनाएर यी सबै कुरामा ध्यानदिई अघि बढ्न थाल्यौं । हामीले संक्रमण भएको र आइसोलेसनमा बसेको कुरा जनाएका थियौं ।
मंसिर २ गते ससुरा बुबालाई असहजता सुरु भयो । रातभरि गाह्रो भएपछि ३ गते बिहान बुबाको पीसीआर परीक्षण लागि पठाएँ । परीक्षण गरेर आएपछि नतिजा पर्खनु स्वभाविकै हुन्थ्यो । बुबाको नतिजा पनि पोजेटिभ आयो । त्यो दिनसम्म आइपुग्दा मलाई अब जितियो भन्ने भईसकेको थियो । श्रीमानलाई शरीर दुख्ने, ज्वरो आउने र खोकी लाग्ने भइरहेको थियो । बुबालाई पनि उस्तै असहजता कायम थियो । बुबालाई मधुमेह र युरिक एसिडको समस्या पहिल्यैबाट थियो । धेरै पहिले निमोनिया समेत भइसकेकाले थप चिन्ता बढ्यो । बिस्तारै डाक्टरसँगको सल्लाहले औषधि थप गर्यौं र हौसला थप्न थाल्यौं । यसले काम गर्न थाल्यो । घाँटीले थुक पनि निल्न नमिलेकाले खानाखानै मान्नु भएन । कोरोना जित्न खानेकुरा धेरै खानुपर्छ भन्ने पनि थियो । बल गराई गराई खुवाउन थाल्यौं । बिस्तारै ठीक हुँदै गयो ।
बुबाको अवस्था सामान्य नहुन्जेलसम्म हामीले पनि दोस्रो परीक्षण नगर्ने कि भन्ने सोचेर हामी निको भइसक्दा समेत परीक्षण गरेनौं । बुबालाई शरीर दुख्ने, बर्बराउने व्यथा चलिरह्यो । पाँचौ दिनसम्म चिकित्सकले सुझाए अनुसार अक्सिजनको मात्रा हेर्दै बस्दै गरेका थियौं । बुबाले आत्तिएको कुरा बताउनुभयो । तत्कालै उहाँलाई अस्पताल लगियो । लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा राखी उपचार सुरु भयो । अक्सिजनको सिलिण्डर जडान गरी बुबालाई श्वासप्रश्वासमा सहजता गराइयो । एम्बुलेन्समा राखेर अस्पताल लैजाने बेलामा केही मानिसको जमघट घरबाहिर देखियो । के भयो ? कसो भयो ? भन्नका लागि होइन । कोरोना लागेका संक्रमितले बिरामी लिएर किन हिँडे भन्ने बारे बुझ्न र टोलभरि सार्छन् भनी हल्ला गर्न । तर, न घरमा बुबालाई अस्पताल लैजान सक्ने अन्य सदस्य हुनुहुन्थ्यो न त अरु कसैले लगिदिन्थ्यो ।
प्रादेशिक अस्पतालको आइसीयूमा रहँदासम्म बुवालाई बाहिर बसेर फोन गर्ने ढाडस दिने, नआत्तिनुस् भन्ने गर्यौं । बिस्तारै श्वासप्रश्वासमा समस्या हुन थालेपछि अर्को अस्पताल लैजाने निधो भयो । हामीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा सारियो । उपचारकै क्रममा मंसिर १४ गते दिउँसो २ : ३० बजे बुबालाई बचाउन नसकेको जानकारी चिकित्सकले गराए । मन भक्कानियो । श्रीमानलाई सम्हाल्न, आफू सम्हालिन र घर रहेका अन्य सदस्यलाई सम्हाल्ने जिम्मेवारी ममा थुप्रियो । जसोतसो मनलाई बुझायौं । १५ गते दिउँसो बुबाको पार्थिव शरीरमा फूल चढाई बुबालाई बिदाई गरी नेपाल आर्मीको जिम्मा लगाएर हामी फर्कियौं ।
यसबीचमा हामीले पनि फेरि पीसीआर परीक्षण गर्यौं । १४ गते बेलुका आएको नतिजा पुन: पोजेटिभ आयो । कारण थियो, न त हामीले आराम गरेर बस्न पायौं, न त खाने समय मिलाएर खायौं । हामीले बुबाको किरिया कर्ममा समेत सजिलै सहभागी हुन नपाउने भयांैं । स्याङ्जादेखि काका आएर बुबाको किरियामा सहभागी हुनुभयो । हामीले ठाडो किरिया गर्न थाल्यौं । यो बीचमा आफन्त, शुभचिन्तक, साथीभाई जसले कोरोनाको बारे राम्ररी बुझेका थिए, भेटघाट र समवेदना प्रकट गर्न घरमा आइरहे । तर बुबाका केही आफ्ना नजिकका डरले आउन सकेनन् । कारण थियो, कोरोना । बुबाको निधन हुनुभन्दा ५० दिनपूर्व हामीले साईलो बुबा (ससुरा बुबाको दाई) लाई कोरोनाकै कारण गुमाएका थियौं । परिवारका २ अग्रजलाई गुमाएको घाउ ताजै छ । किरिया कर्मको ९ दिनमा ढिकुरो फोड्नुपर्ने काममा सहभागी हुन पाए भन्ने सोचले पुन: परीक्षण गरायौं । तर नतिजा आउँदा मेरो श्रीमान अमृतको पोजेटिभ रिर्पोट आयो ।
छोराले गर्नुपर्ने कार्य गर्नबाट वञ्चित भएपछि विक्षिप्त हुनुभएका श्रीमानलाई सम्झाउन पनि उत्तिकै कठिन भयो । स्वास्थ्यका हिसाबले अहिले हामी निको भयौं । तर जीवनभरि हामीले कोरोना सारेकै कारण बुबा हामीबीच नरहनुभएको झुटो वाक्यलाई सँगै लिएर हिँड्नुपर्ने कठोर भारी कहिलेसम्म बोक्नु पर्ने हो । मानिसका मनगणन्ते कुरा कानमा गुन्जिनबाट कसरी रोक्ने ? जवाफ छैन । तर सहन बाध्य छौं । यी समय असामान्य अवस्थाबाट गुज्रिए । कोरोना के हो भन्ने कुरा हामीजस्तै परिवार गुमाएकाको भोगाइले मात्र महसुस गर्दो रहेछ ।
कोरोनाले सिकायो, यो कमजोर र हेल्चेक्र्याँई गर्ने रोग होइन तर, यो पनि हैन कोरोनाको संक्रमण केही दरिद्र मानसिकता बोकेकाहरूले सोचे जस्तो पूर्वजन्मको पाप हो । कोरोनामा मानवता बिर्साउन हैन दर्साउन समाथ्र्य सबैमा आओस् । म चाहन्छु, सधैं जस्तै अझै पनि सयौं संक्रमितको आवाज बनेर उभिन सकुं । बुबा भौतिक रुपमा हामीसँग हुनुहुन्न तर, उहाँले छाडेर गएका पुराना हौसला याद बनेर अगाडि बढ्न प्रेरित गरिरहने छन् र जिम्मेवार बनाउनेछ ती अमित सम्झनाले ।