स्वास्थ्य

ठेकेदारको लापरबाहीका कारण स्वास्थ्य चौकी भवन निर्माण अलपत्र

- एलिसा श्रेष्ठभोजपुर

ठेकदारको लापारबाहीले समयमै पक्की भवन नबन्दा विगत ५ वर्षदेखि भोजपुरको षडानन्द नगरपालिका १, नेपाले डाँडास्थित जीर्ण भवनबाटै स्वास्थ्य सेवा दिईरहेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले अति जीर्ण बनाएको स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरु जोखिम मोलेर सेवा प्रवाह गर्न बाध्य छन् ।

जीर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुबैलाई जोखिमसँगै सावधानी अपनाउनुपर्ने बाध्यता छ । ठेकदारको लापारबाहीले समयमै पक्की भवन नबन्दा विगत ५ वर्षदेखि उक्त जिर्ण भवनबाटै सेवा प्रवाह हुँदै आएको हो । दैनिक २५ को हाराहारीमा सेवाग्राही आउँदा जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या हुने गरेको स्वास्थ्यकर्मीहरु सुनाउँछन् ।

भवनको अवस्था भने एकदमै जीर्ण बनिसकेको छ । कतिबेला भत्किने हो थाहा छैन । पानी चुहिन्छ । तर, त्यहि भवनबाट स्वास्थ्य जस्तो संवेदनशील काम भईरहन्छ । गाउँले सर्वसाधरणहरु सामान्य औषधि लिन पनि घण्टौं पालो कुर्छन् । जीर्ण भवनकै कारण दैनिक स्वास्थ्य सेवा प्रवाह गर्न समस्या छ । भवन भत्किने डरले सेवा दिने र लिने दुबैलाई जोखिमसँगै सावधानी अपनाउनुपर्ने बाध्यता छ ।

चेकजाँच त परै जाओस् सामान्य औषधि लिन जाँदा पनि भवन भत्किने डर भएको स्थानीय सौगात गौतमले बताए । उनले भने, ‘बिजोक छ नेपालेडाँडाका जनताहरुका लागि विकास भन्ने चिज भाषणमा मात्रै सीमित भयो ।’


पक्की भवन नहुँदा प्रसूति गराउने सुत्केरीलाई पनि अन्य स्वास्थ्य चौकी अथवा जिल्ला बाहिर खाँदबारी, धरान, इटहरी लैजानुपर्दा सुत्केरीको ज्यानलाई झन जोखिम हुने गरेको स्थानीय कविता भण्डारीले बताईन् । ‘स्वास्थ्य चौकीको भवन नहुँदा कि कुदाककाउले वडाको स्वास्थ्य चौकी कि खाँदबारी लगायत अन्यत्र स्थान लानू पर्ने हुँदा सडक पनि राम्रो छैन सुत्केरीको बाटैमा मृत्यु सम्म हुने डर हुन्छ’ उनले सुनाईन् ।

व्यवस्थित भवन नहुँदा स्वास्थ्य सेवाका लागि आउने सर्वसाधरण र स्वास्थ्यकर्मीले सास्ती खेप्नु परेको स्वास्थ्य चौकीका अहेब मेघराज देवकोटाले जानकारी दिनुभयो । ‘सामान्य औषधि वितरण गर्न पनि समस्या छ, कतिबेला ठूलो हावाहुरीले पनि भवन भत्किने हो पत्तो छैन’ उहाँले भननुभयो, ‘एउटा पक्की भवन नहुँदा जोखिम मोलेर स्वास्थ्य प्रवाह गर्नुपर्ने बाध्यता छ ।’

सो अस्पताल भवन बनाउन २०७३ सालमा स्वास्थ्य मन्त्रालयले करीब ३ करोड रुपैयाँको टेन्डर खुलाएको थियो । भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्शन भोजपुरले शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महिनामा काम सम्पन्न गर्नेगरी स्वीकृति पाएपछि काम सुरु गर्‍यो । तर, कन्स्ट्रक्शनका सञ्चालक देवी कार्की व्यक्तिगत समस्या देखाउँदै नआएपछि काम ठप्प भयो ।

स्थानीयले बारम्बार ताकेता गरेपछि ठेकेदार कम्पनीले काम थालेपनि सोचे अनुरुप गति लिन सकेको छैन । विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण कार्यमा ढिलाई भएको स्वास्थ्य चौकीका इञ्चार्ज राजनारायण मण्डलले बताउनुभयो । १८ महिनामा सक्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीको लापारबाहीका कारण समयमै काम सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो ।