स्वास्थ्य

पहिला तोकिएका क्वारेन्टाइन र आइसोलेसन अद्यावधि गर्न आग्रह

- प्रशान्त मालीललितपुर

जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरसहित दुई नगरपालिकालाई कोभिडको सुरुको चरणमा तोकिएका क्वारेन्टाइन र आइसोलेसनको अद्यावधि गर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीको दोस्रो लहर प्रत्येक दिन तीव्र गतिमा फैलिदै गएको भन्दै ललितपुर महानगर, गोदावरी र महालक्ष्मी नगरपालिकालाई यस्तो आग्रह गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बिहिबारबाट जारी निषेधज्ञालाई पनि कडाइका साथ लागु गर्न आग्रह गरेको बताउनुभयो । उहाँले भन्न्ुभयो – स्थानीय तहका प्रमुखहरुसँग बैठक बस्ने तयारीमा छौं । सुरुको चरणमा ललितपुर महानगरले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा २० शैया र बागडोलस्थित ज्यापु समाजको वृद्धाश्रममा क्वारेन्टाइन बनाएको थियो । गोदावरी नगरपालिकाले बज्रबाराही चापागाउँ र आनन्दवन अस्पताल लेलेमा १५/१५ बेडको आइसोलेसन वार्ड बनाएको थियो । १२ वटा वडा प्रत्येकले विद्यालयलाई क्वारेन्टाइन बनाएको थियो । भने बडिखेलस्थित कोरियन रेष्टुरेन्टमा ४० बेड क्षमताको आइसोलेसन खडा गरेको थियो ।

महालक्ष्मीले लुभु र टिकाथलीको पार्टी प्यालेसमा क्वारेन्टाइनको रुपमा व्यवस्था गरेको थियो । गोदावरी नगरपालिका स्वास्थ्य शाखा कोभिड फोकल पर्सन सुर्दशन बजगाईले चापागाउँको सांग्रीला बोडिङ स्कुल अहिले पनि क्वारेन्टाइन रुपमा सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले आनन्दवन अस्पतालमा पनि दुई जना संक्रमतिको उपचार भइरहेको बताउनुभयो । पिसिआर र एंटीजन टेस्ट कोभिडको रिपोर्ट तत्काल देखाइने गर्न बुट तयार गर्नेक्रममा रहेको उहाँको भनाई छ । कन्ट्याक ट्ेरसिङका लागि तीन जनाको टोली बनाएको उहाँले बताउनुभयो ।

महालक्ष्मी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द श्रेष्ठले क्वारेन्टाइन र आइसोलेसन सञ्चालनमा ल्याउन स्थानको खोजि भइरहेको बताउनुभयो ।