स्वास्थ्य

२४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा

- सन्जु पौडेलरुपन्देही

पाल्पाकी एक महिलाले ४ शिशुलाई जन्म दिएकी छन् । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा २४ वर्षीया सीता सार्कीले एकै पटक ४ छोरीलाई जन्म दिएकी हुन् । 

कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानीकी सीताले मंगलबार दिउँसो ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताउनुभयो । 

उहाँका अनुसार मंगलबार दिउँसो २ बजे जन्मिएका शिशुहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको हो । 

सीताकी पहिलो सन्तानको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । हाल आमाको अवस्था सामान्य रहेको र बच्चाहरुलाई एनआइसीयूमा राखिएको छ ।