स्वास्थ्य

कोरोना संक्रमित बढ्दै

पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमण दर उच्च विन्दुमा पुग्ने क्रम जारी रहेकाले पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । आगामी भदौको दोस्रो सातासम्म संक्रमण दर उच्च विन्दुमा पुग्ने क्रम जारी रहने मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संक्रमणबाट जोगिन समेत महाशाखाले आग्रह गरेको छ । कोरोनाको दैनिक संक्रमण दर हिजो मात्र १७ प्रतिशत पुगेको छ । सो दर अझै बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको हो । यसैबीच, आफूलाई पायक पर्ने स्थानीय तहको स्वास्थ्य संस्थामा गएर बुस्टर डोजको खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले बुस्टरका लागि करिव ७० लाख डोज फाइजर खोप सुनिश्चित भएको बताउनुभयो ।