स्वास्थ्य

लुम्बिनीमा गर्भपतन गराउनेको संख्या बढ्दै, एक वर्षमा १८ हजारले गराए सुरक्षित गर्भपतन

- सन्जु पौडेलतिलोत्तमा

लुम्बिनी प्रदेशमा सुरक्षित रुपमा गर्भपतन गराउनेको संख्या बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । प्रदेशमा एक वर्षमा १८ हजार ३ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन गराएका छन् । त्यसअघि आर्थिक वर्ष २०७८/७९ प्रदेशमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएका थिए । 

सुरक्षित गर्भपतन गराउने मध्ये १६ हजार ९ सय ५२ जना २० वर्ष भन्दा माथि उमेर समूहका महिला रहेका छन् भने १ हजार ५१ जना २० वर्ष भन्दा कम उमेरका किशोरी रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका सूचना अधिकारी डोरबहादुर बस्नेतले १२ हजार ७ सय ३२ जनाको मेडिकल विधिबाट सुरक्षित गर्भपतन गराएको बताउनुभयो । 

उहाँका अनुसार मेडिकल विधिबाट सुरक्षित गर्भपतन गराउनेमा १२ हजार ५१ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ६ सय ८१ जना २० वर्ष भन्दा कम उमेरका किशोरी रहेका छन् ।

त्यस्तै, ५ हजार २ सय ७१ जनाको सर्जिकल विधिबाट सुरक्षित रुपमा गर्भपतन गवराएका छन् । तीमध्ये ४ हजार ९ सय १ जना २० वर्ष भन्दा बढी उमेर समूहका महिला र ३ सय ७१ जना २० वर्ष भन्दा कम उमेर समूहका किशोरी थिए । 

प्रत्येक जिल्लामा अहिले सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाको पहुँच र त्यही अनुसारको सचेतना मुलक सूचना फैलाइएकाले पनि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको निर्देशनालयका सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो । 

असुरक्षित गर्भपतनले महिलाको ज्यानै जान सक्ने भएकाले गर्भपतन गर्नुपर्ने अवस्थामा सुरक्षित गर्भपतन गराउनु पर्ने उहाँको भनार्ई छ । ‘पहिले सूचीकृत स्वास्थ्य संस्थाहरुको संख्या पनि कम थियो, पहुँच थिएन’, बस्नेतले भन्नुभयो, ‘अहिले सूचीकृत स्वास्थ्य संस्थाको संख्या बढीरहेको छ ।’