स्वास्थ्य

रोहिणी ‘पूर्ण खोप सुनिश्चित दिगोपना’ गाउँपालिका घोषणा

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको रोहिणी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा भएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ मुनीका सम्पूर्ण बालबालिकालाई पूर्ण खोप लगाएकोले सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । 

स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीका अनुसार पूर्ण खोप पालिका घोषणा र दिगोपनाको अवस्थाको समीक्षा गर्ने, पालिकास्तरीय खोप सूक्ष्म योजना, दिगोपनाको योजना बनाउने उद्देश्य रहेको छ । 

पूर्ण खोप सुनिश्तिताको लागि स्थानीय तह स्वास्थ्य संस्था, अन्य साझेदार तहको भूमिकामा साझेदारी र जिम्मेवारी बाँडफाँड गर्ने पूर्ण खोप सुनिश्चितता दिगोपनाको उद्देश्य रहेको उहाँको भनाई छ । 

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले चेतनाको कमी भएको वडामा घर घर पुगेर अभियान नै चलाइपछि यो सफलता प्राप्त भएको बताउनुभयो । 

गाउँपालिकाले हरेक नागरिकलाई स्वस्थ राख्न र स्वास्थ्य सम्बन्धी हरेक आवश्यकता सहजै प्राप्त गर्ने वातावरण बनाउन आफूहरु प्रयासरत रहेको उहाँले बताउनुभयो । 

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा पालिकालाई यो उपलब्धी दिलाउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको आवश्यक माग पूरा गर्न पालिका प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो ।