२० जनामा हैजा पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० जनामा हैजा भएको पुष्टि गरेको छ । मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै साउनयता काठमाडौँ, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो । मन्त्रालयले उमालेर वा क्लोरिन हालेर मात्र पानी प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाई तथा खानेकुराको सरसफाईमा विशेष ध्यान पु¥याउन आग्रह गरेको छ ।
यस्तै शौच गरेपछि साबुन पानीले हात धुन पनि आग्रह गरेको छ । साथै, मन्त्रालयले गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन समेत आग्रह गरेको छ । मन्त्रालयले रोगीको मलमुत्रबाट पानीको मुहानलाई जोगाउनुपर्ने, झिंगा लागेका, बासी, सडेगलेका, नपाकेका, खुलास्थानका खाद्यपदार्थ नखान पनि आग्रह गरेको छ ।