स्वास्थ्य

स्वास्थ्य उपकरण मर्मत सम्भारको जिम्मा आविष्कार केन्द्रलाई

- केएफएम डेस्क

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष महावीर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिनुभयो । संघीय सरकारअन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मर्मत गर्ने तथा ती उपकरणको अवस्थाका बारेमा एकीन गर्ने उहाँको भनाइ छ ।

मर्मत गर्नं सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिने बताइएको छ ।