नेपालमा बालबालिकाको मानसिक स्वास्थ्य समस्या बढ्दै
- काठमाडौंनेपालमा बालबालिका तथा किशोर किशोरीमा मानसिक स्वास्थ्य समस्या भयावह बन्दै गएको विभिन्न अध्ययनले देखाएको छ ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, मानसिक स्वास्थ्य सम्बन्धी अनुसन्धान तथा बाल मनोचिकित्सक लगायत अनुभवका आधारमा बालबालिका तथा किशोर किशोरीको मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएको हो ।
करीब १ करोड २५ लाख बालबालिका तथा किशोरकिशोरी मध्ये ५ दशमलव २ प्रतिशतमा मानसिक स्वास्थ्यमा गम्भीर समस्या देखिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणको प्रतिवेदनले जनाएको छ ।
उनीहरुमा यो समस्या अझै बढ्दो क्रममा रहेको समेत चिकित्सकले जनाएका छन् । सन् २०१५ मा जम्मा ६ सय जनामा मानसिक स्वास्थ्य समस्या रहेकामा गत वर्षसम्म सो संख्या ६ हजार पुगेको कान्ति बाल अस्पतालका बाल मनोविद् डा.अरुण राज कुँवरले बताउनुभयो । बालबालिकामा देखिएको मानसिक स्वास्थ्य समस्यालाई बेवास्ता गर्दा उनीहरुको विकास, शिक्षा र समग्र जीवनमा दीर्घकालीन असर पर्न सक्ने मनोविद् डा.कुँवरको भनाई छ ।
बालबालिका तथा किशोर किशोरीको मानसिक स्वाथ्य समस्या समाधानको लागि सरकारी तवरबाट ठोस कदम नचालिएको सरोकारवालाले गुनासो गरेका छन । उनीहरुको स्वास्थ्य समस्या समाधान एवं परामर्शका लागि आवश्यक मनोचिकित्सकको संख्या पनि निकै न्यून रहेको बताईएको छ ।