सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउन कार्यदल गठन
- काठमाडौंस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेना र प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न प्रक्रिया थालेको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सेना, शसस्त्र र नेपाल प्रहरीद्वारा सञ्चालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने तयारी बारे अध्ययन गर्न अतिरिक्त सचिव डा. टंक बराकोटीको कार्यदल गठन गर्नु भएको हो ।
कार्यदलमा गृह, रक्षा तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधि सदस्य छन् । सो कार्यदललाई सर्वसाधारणलाई सेवा दिनका लागि आवश्यक कार्यविधि तयार पार्ने र कार्यान्वयनको सम्भावना बारे अध्ययन गरी प्रतिवेदन दिन भनिएको छ ।
२०७४ जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले नेपाली सेना र नेपाल प्रहरी मातहतका संस्थाबाट सर्वसाधारणको लागि स्वास्थ्य सेवा खुला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो ।
कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरी कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले गत साता कार्यदललाई सशस्त्र प्रहरीद्वारा सञ्चालित अस्पतालका हकमा समेत अध्ययन गर्न निर्देशन दिनु भएको थियो ।
आम नागरिकलाई समेत सरकारी स्वामित्वका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालको सेवा उपलब्ध गराउन मन्त्री पौडेलले विगतको निर्णय कार्यान्वयन गराउन प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।