स्वास्थ्य

भरतपुर अस्पताल : सेवा बढ्दै गुनासा पनि चुलिँदै

- रमेशकुमार पौडेलचितवन

भरतपुरको सरकारी अस्पतालको सेवा बढ्दो क्रममा छ । अस्पतालले दिने सेवा सुविधा थपिँदै गए पनि सेवाग्राहीबाट आउने गुनासाहरु कम भएका छैनन् । उपचारका लागि आउनेहरु त असन्तुष्ट छन् नै अस्पताल हाक्ने प्रशासकहरु पनि सेवा बढ्दै गएपनि त्यो अनुरुपको दरबन्दी नबढेको दुखेसो पोख्छन् । शुक्रबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पताल प्रशासक र सेवाग्राही दुबैले आफ्ना समस्याहरु सुनाए ।

करीब एक घण्टा मन्तब्य राखेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालमा बिरामीको चाप बढ्दै गएको, मेसिन उपकरणहरु पनि थपिँदै गएको र अस्पताल सफासुग्धर बन्दै गएको बताउनुभयो । भरतपुर अस्पतालमा सुत्केरी हुन आउनेको संख्या बाहेक अरु सेवाग्राहीहरु बढ्दै गएको सुनाइ रहेका मेसु प्रा.डा पौडेलको गुनासो थियो ‘अस्पतालको शैय्या र सुविधा कहाँबाट कहाँ पुग्यो तर दरबन्दी बढेन ।’

विसं २०६६ सालमा अस्पताल तीन सय शय्याको चलाउने, आवश्यक जनशक्तिमध्ये आधा सरकारी दरबन्दी र आधा अस्पताल विकास समितिले खर्च बेहोर्ने निर्णय भएको उहाँले बताउनुभयो । जस अनुसार सरकारले १५० शय्याका लागि १७५ दरबन्दी दिने भनेकोमा हाल १६९ जना कार्यरत छन् । तर, अहिले अस्पतालमा तीन सय हैन ६ सय शय्या सञ्चालनमा छ’, उहाँले भन्नुभयो, ‘एक हजार २२७ जना कार्यरत छन् ।

२०७५ सालमा नेपाल सरकारले भरतपुर अस्पताललाई विशिष्टकृत सेवा दिने संघीय अस्पताल घोषणा गरेको थियो । यो तहको अस्पतालको शय्या पाँच सय कायम गरेर एक हजार ७९ दरबन्दी आवश्यक पर्ने भनिएको मेसु प्रा.डा.पौडेलले बताउनुभयो । हाल दरबन्दीका १६९ जना र सरकारी स्रोतबाट तलब खाने अन्य बाहेक अस्पतालमा कार्यरत एक हजार २२७ जना जनशक्तिमध्ये ७७५ जनालाई अस्पताल विकास समितिले राखेको छ ।

पौडेलका अनुसार अस्पतालमा २४७ जना चिकित्सक मात्र छन् । यी मध्ये १८० जना विशेषज्ञ चिकित्सक हुन् । सरकारी स्रोतबाट तलब खाने चिकित्सक ७० जना छन् । अस्पतालले नौ हजार चार सय बिरामीलाई निःशुल्क सेवा दिएको र यसमा चार करोड ७४ लाख रुपैयाँ खर्च भएको उहाँको भनाई छ । तर, सरकारले सामाजिक सेवा इकाइमा एक करोड ६० लाख रुपैयाँ मात्रै उपलब्ध गराउने र अरु समितिले व्यहोर्दै आएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा ओपीडीमा दैनिक औसतमा एक हजार ७५४ जना, आकस्मिक कक्षमा १४२ जना बिरामी आउने गरेका छन् । अस्पतालको अकुपेन्सि ९२ प्रतिशतसम्म पुग्ने गरेको पनि मेसु पौडेलले बताउनुभयो । ‘अस्पताल व्यवस्थापनमा ७० प्रतिशतभन्दा बढी बेड अकुपेन्सी भयो भने सरसफाइ, जनशक्ति व्यवस्थापनमा डिस्टर्ब हुन्छ भन्ने छ’, उहाँले भन्नुभयो, ‘त्यसैले हामी अति चापमा काम गरेका छौं ।’

विदेशका जति ठूला अस्पतालमा पनि ओपीडीमा तीन चार सय भन्दा बढी बिरामी नहुने पौडेलको भनाई छ । बिरामीको चापले सेवाग्राहीलाई सन्तुष्ट गराउन समस्या परेको हुन सक्ने उहाँको दुखेसो छ । ‘हाम्रो अस्पताललाई जिल्ला अस्पतालका रुपमा ग्रहण गरिन्छ । जसका कारण हाम्रो बजेटको सिलिङ बढ्न सकेको छैन,’ पौडेलले भन्नुभयो, ‘३९ करोड रुपैयाँको बजेट सिलिङ जिल्ला अस्पतालको हो । बल्ल पोहर हामीले ४३ करोड रुपैयाँ पायौं ।’ उपत्यका बाहिर जति ठूलो र राम्रो काम गरे पनि पछाडि पारिने प्रवृत्ति सरकारी संस्थाहरुमा पनि भएको उहाँले गुनासो गर्नुभयो ।

कार्यक्रममा बोल्ने सेवाग्राहीहरुले बीमा गरेर उपचारका लागि आउँदा औषधि पाउन गाह्रो भएको, लामो लाइन लाग्नु परेको, चिकित्सकहरुले राम्रो परामर्श नदिने गरेको गुनासो पोखे । खैरहनी नगरपालिका–२ का दुर्गादत्त अर्यालले बिरामी छटपटिँदै अस्पताल आए पनि भनसुन गरेर उपचार सुरु गर्नु परेको दुख पोखे ।

‘गत वर्ष हो श्रीमतीले पेट दुख्यो भनेर छटपट्टिपछि मैले रातारात अस्पताल ल्याएँ । यहाँ आएपछि एपेन्डिक्स सुन्निएको र फुटेको पनि हुन सक्ने बताए । रात परेका कारण चिकित्सक नभएको हुँदा बिहानै अप्रेशन गर्नु पर्दछ तयार हुनुहोस भने, म तयारीमा लागे’ अर्यालले भने । भोलिपल्ट बिहानै श्रीमतीलाई ‘गाउन’ लगार अप्रेशन गर्न भन्दै लगे पनि साँझसम्म केही नगरेको उनले बताए ।

‘मैले सोधपुछ गर्दा सुनुवाइ भएन । त्यसपछि मैले एकजना राजनीति गर्ने व्यक्तिको सहयोग लिएँ । उहाँले मेसुलाई फोन गर्नु भएछ । त्यसपछि बल्ल अप्रेशनको सुरसार भयो । अझ डाक्टर मसँग अल्लि रिसाउनु भयो । एपेन्डिक्सको बिरामीलाई दिनभर गाउन लगाएर राख्दा के हुन्छ ? यो पीडा कहिल्यै भुलिँदैन’ अर्यालले भने ।