रुपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
- तिलोत्तमारुपन्देहीमा आगामी माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान सञ्चालन हुने भएको छ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रुपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने भएको हो ।
‘एचपीभी’ खोप अभियान माघ २२ देखि पहिलो चरणमा र दोस्रो चरण फागुन १ गतेदेखि सञ्चालन हुनेछ । एकपटकको अभियान ५ देखि ७ दिनसम्म चल्नेछ । खोप अभियान अन्तर्गत विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाइदिने रुपन्देही स्वास्थ्य कार्यालयका निमित्त प्रमुख चिन्तामणि ज्ञावालीले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले पाठेघरको क्यान्सर निको पार्न प्रभावकारी र सुरक्षित मानिएको एचपीभी खोप अभियानको क्रममा विद्यालय अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका उमेरका किशोरीहरुलाई लगाउन लागिएको हो ।
विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ ९ गतेसम्म जिल्लाले पालिका स्वास्थ्य संस्था प्रमुखहरुलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य गरिरहेको छ । त्यसपछि शिक्षक, पालिकाका स्रोत व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीलाई समेत तालिम दिइने ज्ञावालीले बताउनुभयो ।
चिकित्सकका अनुसार पाठेघरको मुखका कोशिकाको असामान्य वा अस्वाभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो ’ह्युमन प्यापिलोमा’ भाइरसको संक्रमणका कारण हुने गर्दछ ।