गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सीको छुट्टै कक्ष स्थापना
- दाङदाङको गढवा गाउँपालिकास्थित गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाका लागि छुट्टै कक्षको व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार इमर्जेन्सी कक्षको उद्घाटन गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकार स्वास्थ्य चौकीको स्तर वृद्धि गरी गाउँमै गुणस्तरीय सेवा दिने बातावरण बनाउन लागिपरेको बताउनुभयो । ‘गाउँमा स्थापना भएका स्वास्थ्य चौकीका स्तर बृद्धि गरी सेवा थप्नुपर्ने आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेको छ । गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाएमा मात्रै नागरिकको स्वास्थ्यको अधिकार पूरा हुन्छ ।’
गढवा गाउँपालिकामा २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो । दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा दिने गरी इमर्जेन्सी सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।
इमर्जेन्सी सेवालाई प्रभावकारी बनाउन छुट्टै कक्षको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य चौकीबाट अहिले प्रसूति सेवा, भिडियो एक्स–रे, एक्स–रे लगायत सामान्य सर्जरी र ल्याब सहितको सुविधा प्रदान गरिएको छ ।
अहिले गढवामा १५ शय्याको आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । अस्पताल निर्माण सम्पन्न भएमा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाका अध्यक्ष पोख्रेलको भनाई छ ।