स्वास्थ्य

जलनका विपन्न घाइतेलाई निःशुल्क उपचार

- केएफएम डेस्क

सरकारले विपन्न परिवारका सदस्य जलनबाट घाइते भएमा उनीहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनको सघन उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि २०८१ जारी गरेको छ । कार्यविधिमा जलनका विपन्न घाइतेले तोकिए बमोजिम सेवा सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । 

सुविधा प्राप्त गर्न सम्बन्धित स्थानीय तह वा अस्पतालको सामाजिक सेवा इकाइले आर्थिक रुपमा विपन्न भनी खुलाइएको सिफारिस पेश गर्नुपर्नेछ । इकाइले आर्थिक रुपमा विपन्नको सिफारिस गर्दा नेपाल सरकारले जारी गरेको गरिब परिवार परिचयपत्रका आधारमा मात्र गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ । 

मुलुकका विभिन्न ८ वटा अस्पतालबाट जलन सम्बन्धी सघन उपचार सेवा प्रवाह गरिने भएको छ । तोकिएका अस्पतालले जलनका घाइतेको आकस्मिक उपचार, तत्काल उपलव्ध उपचार, आईसीयु उपचार व्यवस्थापन तथा अंगभंगबाट पुर्नस्थापना गरी शारीरिक रुपमा सक्रिय जीवनयापनमा फर्किन सक्ने गरी शल्यक्रिया सेवा प्रवाह गर्नुपर्ने लगायत व्यवस्था गरिएको छ ।