स्वास्थ्य

तिलोत्तमामा महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा सुरु

- सन्जु पौडेलतिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै मंगलबारदेखि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको छ । नगरपालिका भित्रका गर्भवतीले गर्भ रहेदेखि ४ पटकसम्म र सुत्केरी भए पश्चात आवश्यक परेमा निःशुल्क रुपमा भिडियो एक्सरे सेवा लिन पाउने सुबिधाको थालनी भएको हो । 

साथै चिकित्सकले भने अनुसार ४ पटक बाहेक पनि जाँच गर्नु परेमा शुल्क नलाग्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले बताउनुभयो । ‘नगरपालिकाले वडा नम्बर–६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नम्बर–१७ स्थित सेमारा स्वास्थ्य चौकीबाट गरेका छौं,’ उहाँले भन्नुभयो, ‘सबै वडामा यो लागू हुन्छ ।’ 

यस सुविधाले नगर भित्रका महिलामा स्वास्थ्य चासो बढाउने र मातृ मृत्युदर घटाउन सघाउने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । निःशुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले आमा बन्नु महिलाको लागि सहज अवस्था नभएकाले स्वास्थ्यको ख्याल गर्न जरुरी रहेको बताउनुभयो । 

पालिका आफ्ना नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै उहाँले हरेक पटक नवीनतम काम गर्दै नागरिकसँग आफूहरुसँगै रहेको अनुभूति दिलाइरहेको बताउनुभयो । 

उपप्रमुख जगेश्वर देवी चौधरीले यो कार्यक्रमबारे छलफल गर्दा नै कार्यपालिकाका हरेक सदस्यले गर्नैपर्ने कार्यक्रम भएकाले बजेट विनियोजन गरिएको बताउनुभयो । गत साउनबाट नै यो सेवा सुरु गर्ने भनिए पनि कार्यविधि तयार गर्दा समय लम्बिएको उहाँको भनाई छ । 

पालिकाले सो सेवाका लागि पोर्टेबल यूएसजी मेसिन प्रयोग गर्ने भएको छ । यसको बजार मूल्य १७ लाख रुपैयाँ रहेको वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकले जानकारी दिनुभयो । यो मेसिनसँगै लिएर हिँड्न मिल्ने भएकाले एक हप्तादेखि १५ दिनको अन्तरमा एक वडादेखि अर्कोमा सेवा दिन सकिने उहाँको भनाई छ ।