स्वास्थ्य

मेरिङदेनका विद्यार्थीमा ‘इन्फ्लुएन्जा ए’ भएको पुष्टि

- आनन्द गौतमताप्लेजुङ

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिम्वाका विद्यार्थीमा देखिएको समस्या ‘इन्फ्लुएन्जा ए’ भएको पुष्टि भएको छ । ८० प्रतिशत विद्यार्थी निको हुँदै गएकाले बुधबारदेखि विद्यालय सञ्चालन गर्ने प्रधानाध्यापकले बताएका छन् । 

त्रिभुवन माध्यमिक र जनज्योती आधारभूत विद्यालयका अधिकांशजसो विद्यार्थी र शिक्षक समेत बिरामी भएपछि गाउँपालिकाले पाँच दिनका लागि बिदा गरेर स्वास्थ्य परीक्षण गरेको थियो । 

बिरामी भएका १६ जनाको स्वाब परीक्षण गरिएकोमा १० जनामा ‘इन्फ्लुएन्जा ए’ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक उदय नारायण दुलालले जानकारी दिनुभयो ।

मेरिङदेन गाउँपालिका स्वास्थ्य शाखाका अनुसार जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा बिरामीको स्वाब संकलन गरी प्रादेशक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । 

त्रिभुवन माविका प्रधानाध्यापक कमल लिम्वूका अनुसार अब बुधबारदेखि नियमित कक्षा सञ्चालन हुन्छ । ‘८० प्रतिशत विद्यार्थी निकोपनि भइसकेका छन्,’ प्रधानाध्यापक लिम्बूले भन्नुभयो, ‘यो सामान्य समस्या हो भन्ने रिपोर्ट आएपछि सबैमा मनोबल बढेको छ अब विद्यालय लगाउँछौं ।’ यो चिसोका कारण हुने समस्या हो । विद्यार्थी बिरामी भएकोबेला यो क्षेत्रमा चिसो बढेको र निकैदिनसम्म घाम पनि नदेखिएको लिम्बूले बताउनुभयो । 

गाउँपालिकाका अनुसार गाउँलेहरु पनि धेरैजसो बिरामी परेका थिए । सूचना प्राप्त हुनासाथ स्वास्थ्यकर्मी परिचालन गरिएको र विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष युक हांविर हाङगामले बताउनुभयो ।

चिकित्सकका अनुसार यो संक्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने, घाँटी, टाउको दुख्ने, नाक बन्द हुने, सिगान बग्ने, जीउ र मांसपेसी दुख्ने, थकान महसुस हुने गर्छ । जाडो महिनामा धेरै सकृय हुने यो जुनसुकै उमेर समूहमा देखिने गरेको छ । 

बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा नजिकको व्यक्तिमा भाइरस सर्छ । यस्तो अवस्थामा बिरामी भएका व्यक्तिहरुसँग भौतिक दूरी राख्ने, सकेसम्म बिरामी अवस्थामा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख, नाक राम्ररी छोप्ने, साबुनपानीले हात धुने, शारीरिक रुपमा सकृय हुने र प्रशस्त तरल पदार्थ खाने गर्नुपर्छ । यसअघि फक्ताङलुङ गाउँपालिका–६ लेलेपका विद्यालयमा पनि यस्तै समस्या देखिएको थियो र विद्यालय बन्द गरिएको थियो ।