स्वास्थ्य

वीर अस्पतालमा दुबै सिफ्टमा अपरेशन सेवा सुरु

- केएफएम डेस्ककाठमाडौं

बिरामीको बढ्दो चापलाई ध्यानमा राखेर देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ । बिरामीको बढिरहेको चाप अनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो । 

अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन सुरु गरिएको बताउनुभयो । यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार कार्ययोजना बनाएर अहिलेको सेवा सुरु गरिएको वीर अस्पतालले जनाएको छ । 

अस्पतालले ओपीडी र सार्वजनिक बिदामा सेवा दिंदै आएपनि दुवै सिफ्टमा अपरेशन बल्ल सुरु गरेको हो । आन्तरिक जनशक्ति र स्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको डा.गौतमले बताउनुभयो ।