मेडिकल कलेजमा विद्यार्थी भर्नाको सिट संख्या र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
-चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजमा विद्यार्थी भर्नाको सिट संख्या र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा आयोग अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा सचिव दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
आयोगको १७ औं बैठकले चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययरत आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने भनी गरेको निर्णयमा असन्तुष्टि जनाउँदै निजी मेडिकल कलेजहरुले स्नातकोत्तर अध्यापन नगराउने निर्णय गरेका छन् । यता आवासीय चिकित्सकहरुले भने निर्णयअनुसार मासिक ४८ हजार निर्वाह भत्ता पाउनुपर्ने भन्दै सडक आन्दोलनमा छन् ।
अधिकांश मेडिकल कलेजका आवासीय चिकित्सकले सेवा समेत बहिस्कार गर्दै आएका छन् । शुल्क विवादले प्रवेश परीक्षाको नतिजापछि विद्यार्थी म्याचिङको प्रक्रिया समेत अवरुद्ध छ ।