स्वास्थ्य

बागमती प्रदेशका १८ लाख जनसंख्या औलोको जोखिममा

- सुवास विडारीमकवानपुर

बागमती प्रदेशको झण्डै १८ लाख १८ हजार जनसंख्या औलोको जोखिममा रहेका छन् । शुक्रबार हेटौंडामा औलो दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांक अनुसार बागमती प्रदेशमा औलोको जोखिम अझै कायम रहेको हो । 

यसवर्ष विभिन्न सचेतनामूलक कार्यक्रम गरी ‘पूर्ण लगानी, पूर्ण सोच र पूर्ण जागरण, हामी बाटै औलो निवारण’ भन्ने नाराका साथ औलो दिवस मनाइएको छ । औलो रोगको उच्च जोखिममा विशेषतः बालबालिका रहेको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरे बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेशभर १ लाख २६ हजार ६८ ले रोगबारे रक्त परीक्षण गरेका छन् । 

बागमतीमा औलो रोगको विरामी ९१ जना रहेका छन् । यस चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख ४ सम्ममा ७ सय ९२ बिरामी (३३ स्थानीय तथा ७ सय ५९ आयातित) को निदान तथा उपचार गरिएको बताइएको दाबी गरिएको छ । बागमतीमा यस रोग संक्रमणको दर ०ं.०५ रहेको छ भने, ०.०७ रक्त परीक्षण पोजेटिभ दर रहेको छ ।

औलो रोग निवारणका लागि जनस्वास्थ्य कार्यालयले निदान तथा उपचार, औलो बिरामीको आधारमा खोजपडताल, सीमा नाका तथा समूदायमा शंकास्पद व्यक्तिको रक्त परीक्षण, प्रकोप नियन्त्रण, क्षमता अभिवृद्धि, सर्बे तथा अध्ययान र नियमित अनुगमन तथा सुपरीवेक्षण लगायत कार्यक्रम गर्दै आइरहेको छ । औलो रोग निवारणमा विभिन्न चुनौतीहरु देखापरेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

विकट भेगहरुमा बिरामी भेटिएपश्चात् औषधी छर्किन समयमै पुग्न समस्या रहेको घिमिरे बताउनुभयो । जनसमुदायको माग अनुसार किटनाशक औषधी तथा झुल आपूर्तिमा समस्या हुनु, स्वास्थ्यकर्मीमा औलो रोगको प्राथमिकता नपर्नु, औलो रोग निवारणमा बाहिरी अनुदान तथा सहयोग घटदै जानु तथा स्थानीय जनप्रतिनिधिहरु औलो रोगबारे पूर्ण जानकार नहुनु जस्ता चुनौतीहरु भोग्नुपरेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य अनुरुप यसको निवारणलाई प्राथमिकतामा राखिएको छ । प्रदेशको मकवानपुर जिल्लामा आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा डेगुंका बिरामी २ हजार ६ सय ५६, स्क्रब टाइफसका ४ सय ८९, कालाजारका ५ र औलोका १ बिरामी भेटिएका छन् । 

औलो रोगलाई अंग्रेजीमा (मलेरिया) भनिन्छ । उनका अनुसार यो रोग लाग्दा उच्च ज्वरो आउने, थकान महशुस हुने, टाउको दुख्ने र बान्ता हुने जस्ता सामान्य लक्षणहरु देखापदछन् । औलो रोग संक्रमित एनोफलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ ।