आवासीय चिकित्सको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन
- काठमाडौंस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि एक कार्यदल गठन गरेको छ । वैशाख २० गते आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारी अनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधा लगायत विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो ।
सोही अनुसार सुझाव दिनका लागि भन्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोकजत्वमा कार्यदल गठन गर्नु भएको थियो ।
गठित समितिमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्राडा सुजनबाबु मरहट्टा, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल सदस्य हुनुहुन्छ ।
यसैगरी, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्रा.डा लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डिन प्राडा मनोज हुमागाईं, निजी मेडिकल कलेजका तर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य सचिव नियुक्त हुनु भएको छ ।
कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधा लगायत विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ । यसैगरी, यस सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्न र सुधारका लागि कार्यान्वयन योग्य सिफारिस तयार पार्न कार्यदललाई कार्यादेश दिइएको छ ।
कार्यदललाई दुई साताभित्र प्रतिवेदन बुझाउन भनिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । ‘आवासीय चिकित्सकसँग मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन गर्न कार्यदलको प्रतिवेदन महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ प्रवक्ता बुढाथोकीले भन्नुभयो ।