स्वास्थ्य

लमजुङ पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

- आश गुरुङलमजुङ

तोकिएको उमेरका बालबालिकाले सबैखाले खोपको मात्रा पूर्ण रुपमा पाएपछि लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा घोषणा गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार जन्मेदेखि १५ महिनाका १ हजार ७ सय ४६ जना बालबालिकामा सबै बालबालिकाले नियमित खोप कार्यक्रम अनुसार नै खोप पाइरहेको र १६ देखि २३ महिनाका १ हजार ८१ बालबालिकाले पाउनुपर्ने सबै खोप पाइसकेका छन् । 

बालबालिकामा खोपको नियमितता र पाउनुपर्ने खोपको सुनिश्चिता भएसँगै मंगलबार बेंसीसहरमा प्रदेश जनस्वास्थ्य कार्यालयद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा घोषणा गर्नुभयो । 

जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण कुमार खनालले जेठ मसान्तसम्म जिल्लामा रहेका ८ वटै पालिकाले पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा घोषणा गरेपछि जिल्ला तहमा घोषणा गरिएको बताउनुभयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिकामा १५ महिना मुनीका २ सय २७ जना र १६ देखि २३ महिनासम्मका १ सय ३७ जना बालबालिका छन् । 

राइनास नगरपालिकामा १५ महिना मुनीका १ सउय ९९ जना र १६ देखि २३ महिनामुनीका १ सय ८६ जना, कव्होलासोथार गाउँपालिकामा १५ महिनासम्मका ७७ जना र १६ देखि २३ महिनासम्मका ५६ जना, मर्स्याङ्दी गाउँपालिकामा १५ महिनामुनीका १ सय ७१ जना र १६ देखि २३ महिनामित्रका १ सय १८ जना बालबालिका छन् ।

यस्तै, दोर्दी गाउँपालिकामा १५ महिनामुनीका १ सय ६२ जना र १६ देखि २३ महिनाका १ सय १७ जना बालबालिका छन् । दूधपोखरी गाउँपालिकामा १५ महिनामुनीका ८३ जना र १६ महिनादेखि २३ महिनासम्मका ६० जना छन् । बेंसीसहर नगरपालिकामा १५ महिनासम्मका ४ सय ४१ जना र १६ देखि २३ महिनासम्मका २ सय ३८ जना बालबालिका छन् । मध्यनेपाल नगरपालिकाका १५ महिनासम्ममका २ सय ७६ र १६ देखि २३ महिना उमेरका १ सय ६८ जना बालबालका रहेका छन् ।

उहाँका अनुसार चालू आर्थिक वर्ष सबै वडामा चैत्र मसान्तभित्र स्वास्थ्यकर्मीहरुले महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको समेत सहयोगमा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना र १६ देखि २३ महिनाको बालबालिकाको नामावली संकलन गरिएको थियो । उनीहरुसहित छुटेका बालबालिकालाई पूर्णखोप प्रदान गरिसकेको अवस्थामा सम्पूर्ण स्थानीय तहमा पूर्णखोप सुनिश्चितता दिगोपना प्रमाणिकरण भएपछि जिल्लालाई घोषणा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाठकले गण्डकी प्रदेशका १ हजार ६ सय खोप केन्द्रमा १० हजार बढी स्वास्थ्यकर्मी खटिएर २८ हजार बढी बालबालिकालाई पूर्ण खोपको मात्रा पूरा गरेको बताउनुभयो । ‘हाम्रो एउटैमात्र उद्देश्य बाल मृत्युदर कम हो’, उहाँले भन्नुभयो, ‘बालबालिकाले पूर्णमात्रामा खोप पाएपछि मृत्युदर कम हुन्छ ।’

मन्त्री पाठकले गण्डकी प्रदेशका अस्पतालको स्तरोन्नति गर्ने, मनाङ र मुस्ताङका अस्पतालमा हाइ अल्टिच्युटबाट भएका बिरामीको उद्दार तथा उपचारका लागि कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिनुभयो । लमजुङलाई २०७३ पुस २६ गते पहिलोपटक पूर्णखोप जिल्लाको रुपमा घोषणा भएको थियो । 

प्रत्येक वर्ष जन्मेका सबै बालबालिकाहरुलाई पूरा मात्रामा खोप प्रदान गरेपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना कायम राख्ने कार्यक्रमलाई निरन्तरता र दिगो बनाउने उद्देश्यले घरधुरी नै सर्वेक्षण गरी बालबालिकामा खोप प्रदान गरिएको उहाँको भनाई छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले खोप पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएकाले बालबालिकालाई पूर्ण खोपबाट बन्देज गराउन नहुने बताउनुभयो । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले तोकिएको समयमा तोकिएका उमेरका बालबालिकालाई खोपको मात्रालाई पूर्णता दिएमा बाल मृत्युदरमा कामी आउने भन्दै यसप्रकारका कार्यलार्य आगामी दिनमा पनि निरन्तरता दिइनुपर्ने बताउनुभयो ।