जापानिज इन्सेफलाइटिसबाट ३५ जनाको मृत्यु
काठमाडौंजापानिज इन्सेफलाइटिसको प्रकोपका कारण ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार विगतका केही वर्षको तुलनामा यस वर्ष जापानिज इन्सेफलाइटिसको संक्रमण धेरै रहेको देखिएको हो ।
हाल देशभर यो रोगबाट संक्रमित हुनेको संख्या १ सय ७९ छ । गत वर्ष यो रोगका कारण २४ जनाको मृत्यु भएको र ८६ जना संक्रमित भएका थियो । यस वर्ष मृत्यु भएकामध्ये ४८ प्रतिशत कृषि पेसामा आवद्ध भएका व्यक्तिहरु भएको पाइएको छ । विशेषगरी धान खेत र बंगुरको खोर नजिक बसोबास भएकाहरु यो रोगबाट प्रभावित भएका छन् । पूर्वी र पश्चिम तराईमा बढी मात्रामा संक्रमण फैलिएको पाइएको छ । संक्रमित भई मृत्यु हुनेमा धेरैजसो खोप नलिएका र ४० वर्षमाथिका र १५ वर्षमुनिका बालबालिका रहेका छन् ।
जपानिज इन्सेफलाइटिस संक्रमण गर्ने क्युलेक्स लामखुट्टे धेरैजसो धानखेत तथा बंगुरपालन व्यवसाय र पानी जम्ने बस्तीमा फैलिने भएकाले यी क्षेत्रमा बसोबार गर्ने मानिस बढी मात्रामा प्रभावित भएको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । यस्तै, यो रोग विरुद्धको खोप सीमित भएको र बालबालिकालाई मात्र दिइएकाले संक्रमण बढिरहेको उहांको भनाई छ ।