डिजिटल साक्षरता र एआई लगायतबारे प्रशिक्षण
काठमाडौंडिजिटल साक्षरता, एआई र प्रविधिमैत्री शासन विकासको बिषयबारे राष्ट्रिय युवा परिषद्का कर्मचारीलाई प्रशिक्षित गरिएको छ । राष्ट्रिय जनसंख्या तथा सहभागितामूलक विकास फाउन्डेसन र राष्ट्रिय युवा परिषद्ले फाउन्डेसन फर द फ्युचरको प्राविधिक सहयोग र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको आर्थिक तथा प्राविधिक सहयोगमा हालै भक्तपुरमा दुई दिने कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालामा राष्ट्रिय युवा परिषद्का कर्मचारी, परिषदको युवा सञ्जालका सदस्य र युवा अभियन्तासहित ४१ जना सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरूलाई डिजिटल सुशासन, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल सञ्चार, अनलाइन सुरक्षा र जिम्मेवार डिजिटल नेतृत्व अभ्यासबारे जानकारी गराइएको थियो ।
सूचना प्रविधि, साइबर सुरक्षा, डिजिटल सुशासन, शिक्षा प्रविधि, सञ्चार, मानव अधिकार र नवप्रवर्तनका क्षेत्रका अनुभवी विज्ञ तथा स्रोत व्यक्तिहरूद्वारा दुई दिने कार्यशालामा ८ वटा सत्र सञ्चालन गरिएको थियो ।
सहभागीले सुशासन क्षमताको रूपमा डिजिटल साक्षरता, डिजिटल रूपान्तरणका अवसर र जोखिम, साइबर सुरक्षा र संस्थागत डिजिटल सुरक्षा, सुशासनमा एआईको नैतिक प्रयोग, रणनीतिक डिजिटल सञ्चार, युवा संलग्नता, भ्रामक सूचना व्यवस्थापन र संस्थागत दक्षताका लागि डिजिटल उत्पादकत्व उपकरणबारे सिक्ने मौका पाएका थिए । त्यस्तै, राष्ट्रिय युवा परिषद्को दीर्घकालीन डिजिटल प्रणाली र संस्थागत डिजिटल अभ्यासलाई सुदृढ पार्न प्राथमिकता, चुनौती र कार्ययोग्य रणनीति पहिचान गर्न समूहगत अभ्यास गरिएको थियो ।