प्रवास

एनआरएनए ओमानले ६ सय अक्सिजन सिलिन्डर पठाउँदै

- केएफएम डेस्ककाठमाडौं

गैरआवासीय नेपाली संघले ओमनबाट करीब ७५ लाख बराबरको ६ सय वटा अक्सिजन सिलिन्डर नेपाल पठाउने भएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बेला संघले सिलिन्डर पठाउन लागेको हो । मस्कटस्थित गैरआवासीय नेपाली सोसल क्लव एनआरएनका अध्यक्ष विकल झाका अनुसार सिलिन्डरको खरिद प्रक्रिया सुरु भइसकेको छ । एनआरएनले मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग सिलिन्डर खरिद गर्न लागेको हो । 

खरिद भएको सिलिन्डर नेपाल पठाउनको लागि ओमनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने झाले बताउनुभयो । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अक्सिजन सिलिन्डर पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको जानकारी दिनुभयो । आगामी आइतबारसम्म ती सिलिन्डर नेपाल आइपुग्नेछन् ।