अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी पक्राउ
- अमेरिकाअवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीलाई गोली प्रहार गरी पक्राउ गरिएको छ । स्थानीय समय अनुसार गत साता मंगलबार राति डुंगा चढेर क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध रुपमा प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार गरी अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरिन अपरेसन्स् (एएमओ)ले पक्राउ गरेको हो ।
हाल उनीहरु सीबीपीकै नियन्त्रणमा रहेको जनाएको छ । क्यालिफोर्नियाको समुन्द्री तटबाट दुई नेपालीसहित नौ जना अवैध अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीलाई नियन्त्रणमा लिइएको सीबीपीले वेबसाइत मार्फत जानकारी दिएको छ ।
सीबीपीले हालसम्म पक्राउ पर्नेको नाम भने खुलाएको छैन । ‘एएमओको विमानले मंगलबार राति करीब साढे ९ बजे क्यालिफोर्नियाको तटबाट डुंगामा अमेरिकाको सीमातर्फ आउँदै गरेको अवैध आप्रवासीको समूह पत्ता लगाएपछि कोस्टल इन्टरसेप्टर भेसलसँग समन्वय गर्दै एयरक्रुले डुंगाको निगरानी गरिरहेको थियो ।’
सीबीपीले भनेको छ, ‘रातिको समयका कारण समुद्रमा उनीहरुलाई नियन्त्रणमा लिन समस्या भएपछि बुधबार बिहान उनीहरुमाथि गोली प्रहार गरी पक्राउ गरिएको हो ।’
पक्राउ पर्नेमा दुई नेपालीसहित दुई मेक्सिकन, चार ब्राजिलियन र एक जना चिनियाँ नागरिक छन् । उनीहरुलाई अमेरिकी कानून ८ यूएससी १३२४ उल्लंघन गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाउने सीबीपीले तयारी गरेको छ । अमेरिकी कानून अनुसार सामान्य उल्लंघनमा जरिवाना वा पाँच वर्षसम्म जेल, आर्थिक लाभका लागि वा आपराधिक विदेशी संलग्न भएमा न्यूनतम ३ देखि अधिकतम १० वर्षसम्म जेल सजाय हुनेछ ।
गत साता बुधबारनै दक्षिण सीमाबाट अमेरिका हिँड्दै आउने क्रममा एक नेपालीले ज्यान गुमाएका थिए । दाङ घर भएका ३५ वर्षीय पूर्णबहादुर डाँगीको घानाको राजधानी आक्रामा मृत्यु भएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यभार सम्हाले लगत्तै सीमा सुरक्षामा कडाइ गर्दै सुरक्षाकर्मी परिचालन संख्यामा समेत दोब्बर वृद्धि गरेपछि अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेको आप्रवासीको संख्या ९७ प्रतिशतले घटेको छ ।
ट्रम्प प्रशासनले सीमा सुरुक्षामा खटिने सीबीपीलाई गैरकानूनी रुपमा अमेरिका प्रवेशका लागि सीमा पार गर्न खोज्नेहरुलाई अवस्थाको अध्ययन गर्दै इन्काउन्टर गर्न, पक्राउ गरी जेलमा राख्न, तत्काल कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन र निष्कासन गर्न आदेश दिएको एक महिनामा गैरकानूनी आप्रवासी प्रवेश गर्न खोज्ने ९७ प्रतिशतले घटेको हो ।