संविधान रिपोर्ट

मस्यौदामा सुझाव संकलन नौटंकी : पौडेल

लालप्रसाद शर्मा
साउन ४, पोखरा । 

 

कंग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानको प्रारम्भिक मस्यौदामाथि राय सुझाव लिने कामलाई नौटंकीको संज्ञा दिनुभएको छ । राय सुझाव लिने काममा हतारो देखिएको भन्दै पौडेलले दुई दिनमा सुझाव संकलन असम्भव र अव्यबहारिक देखिएको भन्दै सुझाव संकलन देखावटी मात्रै भएको बताउनुभएको हो । सुझाव संकलनकै लागि गृह जिल्ला तनहुँ जाने क्रममा आज विहान पोखरा विमानस्थलमा संचारकर्मीसँगको भेटमा उहाँले फास्टट्रयाकबाट संविधान बनाइनु अस्वभाविक भएको बताउनुभयो ।

‘राय सुझाव लिएरमात्रै भएन त्यसलाई राम्रोसँग अध्ययन गरी मस्यौदामा व्यापक परिमार्जन गरी संविधानको अन्तिम रुप दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘यति ठूलो योजना, ठूलो जनशक्ति, साधनस्रोत परिचालन र अर्बौको लगानी खेर फाल्नु हुँदैन । अहिले केही नेताको नाटकमात्रै भएको छ ।’ सुझाव संकलनको काम देखावटीमात्रै भएकाले आफूले हतार नगर्न भनेको उहाँको भनाई थियो ।