भक्तपुर डायरी
- भक्तपुर
चाइनिज इटा उत्पादन पुन: शुरु
गतवर्षको भूकम्पले क्षतिग्रस्त चाइनिज इटा उद्योग १५ महिनापछि सञ्चालनमा आएको छ । भूकम्पका कारण उद्योगको चिम्नी लगायतका संरचना पूर्णरुपमा क्षति भएपछि दैनिक करिब ८० हजार इटा उत्पादन गर्दै आएको उद्योग बन्द भएको थियो ।
करिब २ सय ५२ रोपनी क्षेत्रफलमा सञ्चालित इट्टा उद्योग निजीकरण भएपछि अर्थ, उद्योग मन्त्रालय र भक्तपुर इटा तथा टायल उद्योग प्रालिका बीच ०६० मा त्रिपक्षीय सम्झौता गरी प्रालिले सञ्चालन गर्दै आएको छ ।
चीन सरकारले २०३२ मा ६५ मिटर अग्लो प्रदुषण रहित चिम्नी होफ्मिन सिस्टममा निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको र नेपाल सरकारले उद्योग सञ्चालन गर्न नसकेर बन्द भएपछि निजीकरण गरी भाडामा संचालन गर्न दिएको जनाएको छ ।
भूकम्पले भत्काइएका सम्पदाको पुर्न:निर्माण सुरु
भूकम्पको धक्काले भत्काइएका भक्तपुरको मुख्य सम्पदाहरुको पुन:निर्माण कार्य सुरु भएको छ । भूकम्पका कारण क्षतिग्रस्त विश्वसम्पदा सुचीमा सुचिकृत र अन्य मुख्य सम्पदाहरुको पुन:निर्माण कार्य थालिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्व विभाग) भक्तपुरले जनाएको छ ।
भूकम्पबाट क्षतिग्रस्त सम्पदा पूर्ननिर्माणको लागि विनियोजित बहुवार्षिक योजना अन्र्तगतको सम्पदा पुन:निर्माण थालिएको पुरातत्व विभाग भक्तपुरका सिनियर इञ्जिनियर मोहनकृष्ण श्रेष्ठले बताउनुभयो ।
पुरातत्व विभागले ७, भक्तपुर नगरपालिकाले ९ र जर्मन परियोजनाबाट भक्तपुर नगरभित्रको मुख्य ९ सम्पदा र तीन विद्यालय पुन:निर्माण गरिने सम्झौता भएको भक्तपुर नगरपालिका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले बताउनुभयो ।
भक्तपुरको एकमात्र वारुण यन्त्र ठप्प
जिल्लाको एकमात्र जुद्ध वारुण यन्त्रको सेवा ठप्प भएको छ । ७३ वर्षदेखि सेवा पुर्याउँदै आएको दमकल सेवा चालकको अभावका कारण रोकिएको जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुर प्रमुख विजयप्रसाद द्यौभडेलले बताउनुभयो ।
दमकल चलाउने दुईजना भारी सवारी चालकहरुको करार म्याद गत असार मसान्तमा सकिएको र पुन: करार सम्झौता गर्न नमानेपछि दमकल सेवा रोकिएको जुद्ध उहाँले बताउनुभयो । वारुण यन्त्र कार्यालय भक्तपुरमा ५ भारी सवारी चालकको दरबन्दी छ । तर, सरकारले उक्त दरबन्दी पूर्ति गर्न सकेको छैन ।
चारमुखे शिवलिङ्ग भेटियो
भक्तपुर नगरपालिका–१७, सल्लाघारीस्थित च्वङ्गा गणेश मन्दिर परिसरमा चारमुखे शिवलिङ्ग भेटिएको छ । मन्दिरको उत्तरपट्टिको सल्लाको रुखको फेदमा गाडिएर छोपिएको अवस्थामा मूर्ति भेटिएको प्रहरीले जनाएको छ ।
करिब २५ किलो तौल भएको १ फिट ६ ईन्च अग्लो मूर्ति पहेंलो कपडाले बेरेर छोपी राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब निरीक्षक कृष्ण तिमल्सिनाले बताउनुभयो ।
नियमित पूजा भईरहेको मूर्ति चोरी गरी ल्याएर त्यस क्षेत्रमा लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ । भक्तपुरको कुन ठाउँको मूर्ति, हो त्यसको पहिचान भएको र अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।