जिल्ला डायरी

बुटवल डायरी

- अमृता अनमोलरुपन्देही

फोहोर फाल्ने डम्पिङ साइट बनेको रुपन्देहीको डण्डा नदीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने भएको छ । नदीको संरक्षण र प्रवर्धन गरी पर्यटकीय स्थलका रूपमा विकास गर्न भन्दै सिद्धार्थनगर नगरपालिकाले डण्डा नदी कोरिडोरको अवधारणा अघि सारेको हो । नगर प्रमुख हरिप्रसाद अधिकारीले सिद्धार्थनगरमा पर्ने नदीको १५ किलोमिटर क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । डण्डा नदीको ५ किलोमिटरलाई कृषियोग्य भूमि, ५ किलोमिटरलाई मनोरञ्जन केन्द्र र ५ किलोमिटर क्षेत्रलाई समेटेर शैक्षिक तथा अनुसन्धान क्षेत्रका रूपमा विकास गरिने छ । मनोरञ्जन क्षेत्रको उत्तरमा पानीको फोहोरा, डोम गेट, खुल्ला मञ्च, एमपी थियटर, बाल तथा वृद्धा उद्यान, क्याप्टेरिया लगायत बनाइने छ । बीचको शान्ति क्षेत्रमा बुद्ध मूर्ति सहितको बुद्धपार्क, ध्यान केन्द्र, बगैंचा, योगा केन्द्र, लगायत बनाइने नगरप्रमुख अधिकारीको भनाई छ ।

वन पाल्ने तर उपयोग नगर्ने अवस्था रोक्न लुम्बिनी प्रदेशमा वनमा लगानी कार्यक्रम थालिएको छ । नयाँ रूख उत्पादन गर्ने र हाल रहेका रुखबाट बढी भन्दा बढी आम्दानी लिने अपेक्षा सहित कार्यक्रम थालिएको हो । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले वनलाई बहुबाली सरह फाइदा लिने बनाउन देशभरमा लुम्बिनी र प्रदेश २ मा वनमा लगानी कार्यक्रम थालिएको बताउनुभयो । जसमा रणनीतिक जलवायु कोषको निर्देशित कार्यक्रममा वन क्षेत्रको संरक्षण, उत्पादन र उपयोगिता तीन वटै कुरा समावेश छन् । वन पाल्नेले समर्पित अनुदान प्रक्रिया मार्फत बहुपक्षिय विकास बैंक मार्फत रकम समेत प्राप्त गर्ने छन् । अब वन हेरेर चित्त बुझाउने होइन उपयोग गर्ने र त्यसबाट स्थानीयले फाइदा लिन सक्ने मन्त्री गिरीको भनाई छ ।

रुपन्देहीको तिलोत्तमामा रहेको बुटवल सोलार पावर प्रोजेक्टले विद्युत उत्पादन सुरू गरेको छ । गत बैशाख महिनामै बिजुली उत्पादन सुरू गर्ने लक्ष्य राखेको रिडी हाइड्रोपावरले असोज मसान्तमा काम सकेको हो । कात्तिक महिनादेखि उत्पादित साढे ८ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा लगेर जोडिएको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका कार्यकारी निर्देशक कुवेरमणि नेपालले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिका–६ गोरकट्टामा २६ बिगाहा जग्गा लिजमा लिएर आयोजनाको प्यानल, ट्रान्सफर्मर, इन्भर्टर जडान गरिएको छ । विद्युत उत्पादनका लागि ३२ हजार सोलार पाता जडान गरिएको छ । यहाँ उत्पादित बिजुली अमुवामा रहेको सव–स्टेशनमा जोडिएको छ ।

अदालतबाट कसुर ठहर भई कैद सजायँ तोकिएका व्यक्ति फरार हुने क्रम बढेपछि लुम्बिनी प्रहरीले फरार अभियुक्त पक्राउ अभियान चलाएको छ । अपराधिक घटनामा संलग्न भएका फरार व्यक्ति बढेपछि फरार अपराधी पहिचान र पक्राउ अभियान चलाएको वरीष्ठ प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता राजकुमार वैदवारले बताउनुभयो । अभियान अन्तर्गत पछिल्लो ५ महिनाको अवधिमा ३ सय ३९ जना फरार व्यक्ति पक्राउ गरेको छ । फरार अभियुक्त मध्ये सबै भन्दा धेरै बाँकेका २ सय ७६ जना पक्राउ परेका छन् ।

बुटवलका व्यवसायीले सञ्चालन गरेको सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले कोरियन फ्लेवरको चाउचाउ बजारमा ल्याएको छ । कोरियन तयारी चाउचाउको माग बढेपछि सूपथ मूल्यमा कोरियन फ्लेवरको समुराई चाउचाउ उत्पादन थालिएको प्रालिका अध्यक्ष उज्वल कसजुले बताउनुभयो । १२० ग्रामको कोरियन स्पाईसी नुडल्सको मूल्य नेपाली बजारमा १५० रुपैंयाँ छ । सोही अनुसार ७५ ग्रामको समुराई नुडल्सको ३० रुपैयाँ मूल्य निर्धारण गरिएको कम्पनीका व्यवस्थापक हरिवंश भुजेलले बताउनुभयो ।