कालीकोट डायरी
- कालीकोटसुरक्षामा खटिने प्रहरी र थुनुवालाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले पुस्तकालय स्थापना गरेको छ । लेट्स रिड टुनेदर नारासहित स्थापना भएको पुस्तकालयमा नेपालका चर्चित साहित्यकारहरुले लेखेका पुस्तकसहित ऐन कानून सम्बन्धी किताबहरु राखिएको कालीकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालले बताउनुभयो । प्रहरी र थुनुवामा सकारात्मक सोचको विकास गर्न पढ्ने बानी बसाल्न किर्डाक नेपाल र सेभ द चिल्डेनको सहकार्यमा पुस्तकालय स्थापना गरिएको डिएसपी रिमालले जानकारी दिनुभयो । थुनुवाका लागि मन लागेको बेला पुस्तक लिएर पढ्ने सुविधा भए पनि प्रहरी कर्मचारीका लागि भने विहान ८ देखि ९ बजेसम्म र बेलुकी ५ देखि ६ बजेसम्म पुस्तकालयमा पढ्ने समय तोकिएको छ ।
पहिरो पीडित कालीकोटका ३ सय घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । गत असोज १९ गतेदेखि २५ गतेसम्मको अविरल वर्षापछि घर भत्किएका तिलागुफा नगरपालिकाका २ सय र खाडाचक्र नगरपालिकाका १ सय घर परिवारलाई प्रति परिवार १३ हजार ५ सय मूल्यको चामल, दाल, तेल, चिनी र आयोडिनयुक्त नून वितरण गरिएको कर्णाली पहिरो रोकथाम परियोजनाका सुपरभाइजर चेतवहादुर फडेराले जानकारी दिनुभयो । स्र्टाट फन्ड नेटवर्कको आर्थिक सहयोगमा वल्डभिजन र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रको सहकार्यमा पहिरो प्रभावित तिलागुफाका २ सय परिवारलाई खाद्य तथा गै्रह् खाद्य सामग्री, हेल्थ हाइजीन किट, गर्भवती तथा बालबालिकाक लागि पोषिलो खानालगायतका समग्री तिरण गरिएको हो भने खाडाचक्रका एक सय परिवारलाई १३ हजार ५ सय मूल्यको खाद्यान्न सहयोग गरिएको जिल्ला विपद् ब्यवस्थापन समिति कालीकोटका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।
चुनाव जितेपछि शहर केन्द्रीत हुने यहाँका जनप्रतिनिधिहरु यस पटक चुनाव जिताउन मतदान गर्ने मतदातालाई धन्यवाद दिन र स्थानीयका गुनासो सुन्न गाउँ केन्द्रीत भएका छन् । प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रको तर्फबाट दोश्रो पटक चुनाव जितेका कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रवहादुर शाही, प्रदेश सभा १ मा चुनाव जितेका माओवादी केन्द्रका दुर्गवहादुर रावत र प्रदेश सभा २ बाट चुनाव जितेका कांग्रेस नेता हिक्मतवहादुर विष्टसहितका गठबन्धन दलका नेताहरु मतदातालाई धन्यवाद दिन यहाँका ९ वटै स्थानीय तहका केन्द्रमा पुगेका हुन् ।
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान जिल्ला सदरमुकामसहितका केही स्थानीय तहका केन्द्रमा मात्र सीमित भएको स्थानीयको गुनासो छ । ‘सभ्य समाजको पहिचान लैगिंक हिंसा विरुद्धको अभियान’ भन्ने नारासहित २५ नोभेम्वरदेखि सुरु भएको दिवस बारे ग्रामीण भेगका महिलाहरु बेखबर जस्तै छन् । अभियानका बारेमा रेडियोमार्फत सुने पनि गाउँमा कुनै गतिविधि नभएको पलाता ४ खीनकी मिमकोशा बुढाले गुनासो गर्नुभयो । गत वर्ष खाडाचक्रका प्रत्येक वडाले ऱ्याली, अन्र्तक्रिया, हिंसा पीडित महिला सम्मान कार्यक्रम राखे पनि यस वर्ष गाउँमा कुनै कार्यक्रम नभएको खाडाचक्र ८ दशालाकी महिला अधिकारकर्मी राधिका मल्लले बताउनुभयो ।