जिल्ला डायरी

म्याग्दी डायरी

- घनश्याम खड्काम्याग्दी

पछिल्लो समय म्याग्दीका विभिन्न गाँउमा परम्परागत मौलिक घरका स्वरुपमा परिवर्तन आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित मगर जातिको बाहुल्यता रहेको नारच्याङ त्यसको उदाहरण बनेको छ । जहाँ परम्परागत बस्तीको ठाउँमा सिमेन्ट प्रयोग गरेर बनाइएको आरसिसी घरहरुले मौलिकता मोटाउन थालेको छ । रैथाने सीप र ज्ञान भएका पुस्ता हाउँदै गएको तथा सिपालु र छाउनका लागि प्रयोग हुने ढुङ्गा निकाल्ने मान्छे पाउन कठिन भएको स्थानीय बताउँछन् । गाउँ सडक सञ्जालसंग जोडिएपछि जंगलबाट काठ बोक्न भन्दा सिमेन्टको ढुवानी सहज भएकाले गाउँलेहरु आधुनीक संरचना निमार्णमा लागेका हुन् ।

म्याग्दी सदरमुकाम बेनीमा दुई वर्षदेखी अलपत्र बनेको ‘मिनी रंगशाला’ निर्माणको काम पुनःसुरु भएको छ । संघ तथा प्रदेश सरकार फेरिएसँगै बजेट कटौतीका कारण अलपत्र बनेको सो रंगशाला बनाउन बेनी नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेपछि निर्माण प्रक्रिया सुरु भएको हो । ३६ मिटर लामो र ८ दशमलव ५ मिटर उचाइ रहने रंगशालामा ५ तहकको प्याराफिट निर्माण गर्नका लागि उत्तरगंगा निर्माण सेवाले ३५ लाख ९३ हजार १ सयमा ठेक्का सम्झौता भएको छ । यस अघि कोरोना संक्रमणका कारण भएको लकडाउनका कारण मिनी रङ्गशाला निर्माणको काम रोकिएको थियो ।

मीठो र गुणकारी खाद्य बस्तु हो मह । कम लगानीमा सजिलो व्यवसायकारुपमा रहेको मौरी पाल्नु जोखिमपूर्ण पनि छ । बेनी नगरपालिका, ४ सुर्केमेलाका डिलबहादुर केसीले बर्षमा २ सय बढी मौरीको घार बेच्ने गरेको बताउनुभयो । मंगला गाउँपालिका–१ कुहुँका गोविन्द केसी, बेनी नगरपालिका, ५ डढुवाकी रामकुमारी खत्री र नारायण शर्माले पनि मह र मौरी बेचेर बार्षिक १० लाखबढी नगद आम्दानी गर्ने गरेका छन् ।

म्याग्दीको सदरमुकाम बेनीमा पहिलो पटक जलयात्रा ब्यवसाय (र्‍याफ्टिङ) सुरु भएको छ । बेनी नगरपालिका–९ गलेश्वरदेखी बेनीको दोविल्लासम्मको कालीगण्डकी नदीमा ३ किलोमिटर खण्डमा जलयात्रा ब्यवसाय र्‍याफ्टीङ सुरु भएको हो । र्‍याफ्टिङ्ग गर्दा पहिलोदिन नदीको छाल तरङ्गको आधारमा पहिलो, दोस्रो, तेस्रो र चौथो छलाङ्गको छुट्टाछुट्टै नामले चिन्ने गरिन्छ । सन् १९९१ देखी बेनीदेखी स्याङ्जाको मिर्मीसम्म ६० किलोमिटर कालीगण्डकी नदीमा र्‍याफ्टिङ्ग तथा क्याकिङ्ग गर्न सुरु भएको हो । तर बेनी–मालढुङ्गासम्मको खण्डमा अलिबढी छालहरु बढी भएकोले ब्यवसायीले मालढुङ्गा–मिर्मीसम्म मात्र र्‍याफ्टिङ्ग गराउँदै आएका थिए । स्थानीय तथा मुस्ताङ भ्रमणमा आउने आन्तरिक पर्यटकलाइ लक्षित गरी गलेश्वर–बेनी छोटो दुरीमा पहिलो छलाङको र्‍याफ्टिङ्ग सुरु गरिएको स्पाल्स नेपाल एडभेन्चरका संञ्चालक/गाईड होम पुनले बताउनुभयो ।