कञ्चनपुर डायरी
- कन्चनपुरकञ्चनपुरमा पुर्णागिरी मेला सुरु भएसँगै ब्रम्हृदेव र महेन्द्रनगर बजारमा चहलपहल बढेको छ । फागु पूर्णिमादेखि शुरु हुने मेलाले यहाँको व्यापार व्यवसाय समेत बढेको छ । भारत उत्तराखण्डको चम्पावत जिल्लामा रहेको पूर्णागिरी मन्दिरमा दर्शन गरेपछि ब्रम्हृदेव वा महेन्द्रनगरमा रहेको सिद्धबाबाको मन्दिरमा अनिवार्य दर्शन गर्नुपर्ने परम्परा रहिआएको छ । चैते दशैंको नवरात्रमा मेलाको चहलपहल अझ बढी हुने गरेको छ । मेला अवधिमा हुने कारोबारले वर्षभरिको गुजारा चलाउनुपर्ने ब्रम्हृदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले बताउनुभयो । उहाँका अनुसार दैनिक २०/२५ हजारको संख्यामा दर्शनार्थी आउने गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बँदेलमा अफ्रिकन स्वाइन फ्लुको संक्रमण देखिएको छ । संरक्षित क्षेत्रमा नेपालमै पहिलो पटक स्वाइन फ्लु देखिएपछि बँदेल संरक्षणमा चुनौती बढेको छ । फागुन १९ मा निकुञ्जको बर्निखेडा क्षेत्रमा मृत देखिएको बँदेलको पोष्टमार्टम र पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश जोशीले बताउनुभयो । बंगुर र बंदेलमा मात्रै हुने अफ्रिकन स्वाइन फ्लु संक्रमणको हालसम्म उपचार पत्ता लागेको छैन ।
विपाश्यना ध्यान केन्द्रको नाममा कञ्चनपुरको चुरे क्षेत्रमा निर्माण गरिएको भौतिक संरचना भत्काइएको छ । डिभिजन वन कार्यालयले भीमदत्त नगरपालिका ९ ब्रम्हृदेवको उत्तरी क्षेत्र चुरेमा निर्माण गरिएको सो संरचना भत्काएको हो । विपाश्यना ध्यान केन्द्रका नाममा दिइएको १५ हेक्टर धार्मिक वन खारेजीको लागि पनि छलफल अघि बढाइएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीले बताउनुभयो । चुरेको झिलमिला क्षेत्रमा प्रदेश सरकारको लगानीमा गत वर्ष सो संरचना निर्माण भएको थियो ।
महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियम स्थापना गरिएको छ । क्यप्टेन वेद उप्रेतीले डेढ करोडको लगानीमा सो म्युजियम सञ्चालनमा ल्याउनुभएको हो । स्थानीयसँगै भारतीय पर्यटकलाई आकर्षण गर्न तथा स्थानीय स्तरमा रोजगारी सृजना गर्ने उद्देश्यले म्युजियम सञ्चालन गरिएको उप्रेतीले बताउनुभयो । झण्डै एक दशकअघि धनगढीमा स्थापना गरिएको म्युजियम जमिन अभावका कारण नेपालगञ्ज हुँदै महेन्द्रनगरमा ल्याइएको हो ।