बाँके डायरी
- नेपालगञ्जचालू आर्थिक वर्षको ६ महिनामा बाँकेमा क्षयरोगबाट १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले साउनदेखि पुससम्ममा जिल्लामा १३ जनाको मृत्यु भएको जानकारी दिनुभयो । सो अवधिमा जिल्लामा ५ सय १८ जना नयाँ बिरामी फेला परेका छन् । क्षयरोग निको हुने दर ९२ प्रतिशत छ । ६ महिनामा चार जना औषधि खाँदा पनि निको भएनन् । १४ जना औषधि खादाखाँदै बीचमै सम्पर्कविहीन छन् । नियमित औषधि सेवन गरे ६ महिनामै निको हुने क्षयरोगका अधिकांश बिरामी उपचारको दायरामै नपुग्दा क्षयरोग मुक्त गराउने कार्यमा चुनौती थपिएको छ । सामान्यतया क्षयरोग माइक्रोबेक्टेरियम ट्युबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने गदर्छ ।
कोहलपुर नगरपालिकाले योजना निर्माण तथा कार्यक्रम चयनमा ‘भिजन कम्पिटिसन’ गराउने भएको छ । चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञ समुह तथा ब्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन प्रस्ताव गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । स्वदेश तथा विदेशमा रहेका विद्यार्थी सोधकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार, स्वतन्त्र अन्वेषक, लेखक, बुद्धिजिवी, नेपाली नागरिक र संघ संस्थाले सो प्रतियोगितामा भाग लिन सक्ने छन् । नगरपालिकाका अनुसार प्रस्तावना पेश गर्दा कोहलपुरको वर्तमान अवस्थाको विश्लेषण गरी विकास निर्माण, सुशासन लगायत विषयमा आगामी दिनमा गर्नुपर्ने कामको योजनासहित अनुमानित रकम प्रस्तावनामा समेट्नु पर्नेछ ।
बाँकेमा पुनः कोरोना भाइरस संक्रमित भेटिन थालेका छन् । नेपाल–भारत जमुनाह नाका हुँदै भारतबाट फर्किने नेपालीमा पुनः कोरोना संक्रमण देखिन थालेको हो । केही दिनदेखि संक्रमितको संख्या बढ्न थालेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज ओलीले जानकारी दिनुभयो । ओलीका अनुसार यही चैत १ गतेदेखि ११ गतेसम्म १७ जनामा संक्रमण देखिएको छ ।
बाँकेको नेपालगञ्जको फुल्टेक्रास्थित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा तालाबन्दी गरिएको छ । लामो समयदेखि विवादित अस्पतालविरुद्ध आवश्यक छानबिन गर्नुपर्ने माग गर्दा समेत अस्पताल व्यवस्थापन समिति र प्रशासनले सुनुवाइ नगरेको भन्दै नागरिक समाज बाँकेले आइतबार तालाबन्दी गरेको हो । सो केन्द्र ब्रिटेन नेपाल अटोलोजी सर्भिस नामक संस्था मार्फत सन् २०१६ देखि सञ्चालनमा आएको थियो । अस्पताल व्यवस्थापन समितिले मनोमानी गर्दै आएको भन्दै छानबिनको माग गरेर जिल्ला प्रशासन कार्यालयमा दुई वटा उजुरी समेत परेका छन् । संस्थाको सुरुवातदेखि प्रमुख कार्यकारी पदमा कार्यरत पुरणबहादुर थारुलाई व्यवस्थापन समितिले निलम्बन गरिएपछि विवाद चर्किएको हो । संस्थाको विधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, वार्षिक रुपमा साधारणसभा नगर्ने गरेको, नविकरणका लागि कागजी रुपमा साधारणसभा गर्ने गरिएको, स्थापनाकालदेखि हालसम्म एउटै कार्यसमिति रहेको लगायतका आरोप पनि व्यवस्थापन समितिमाथि लाग्दै आएको छ ।