आर्थिक

नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारीमा हस्ताक्षर

- केएफएम डेस्कललितपुर

जापानले नेपाली श्रमिक लैजाने विषयमा दुई देशबीच सहयोग समझदारीपत्रमा हस्ताक्षर भएको छ । ललितपुरको कुपन्डोलमा  आज आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा श्रम मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे  र जापानी राजदूत मासामिची साइगो बीच हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षरसँगै जापानमा कामदार पठाउने औपचारिक बाटो खुलेको छ ।

जापानले नेपालसहित ९ मुलुकबाट आगामी सातादेखि विदेशी कामदार लैजाने तयारी गरेको छ । नेपालसंग भएको समझदारी अनुसार कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत तथा सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ लगायतका १४ वटा क्षेत्रका लागि कामदार लैजाने छ । नेपाली कामदार लैजाने मोटामोटी सहमति भएपनि कति संख्यामा लैजाने भने यकिन भइनसकेको श्रम मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

जापानले विशिष्टिकृत दक्ष कामदार स्पेसिफाइड स्किलड वर्कर अर्न्तगत पहिलो र दोस्रो वर्गका कामदार लिने सहमतिमा उल्लेख छ । पहिलो वर्गका कामदार सम्बन्धित क्षेत्रमा अनुभवी  र ५ वर्षसम्म जापानमा बस्न पाउनेछन् भने दोस्रो वर्गका कामदारका लागि उच्च तहको सिप आवश्यक पर्नेछ । डाक्टर, नर्स, इन्जिनियर लगायतले दोस्रो वर्गको भिसा पाउनेछन् । यस्ता कामदारको पनि भिसा अवधि थप गर्न सकिने र परिवारका सदस्यहरुलाई समेत जापान लैजान सक्ने सुविधा हुने समझदारी पत्रमा उल्लेख छ । कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै गर्ने सहमति पनि दुई मुलुकबीच भएको छ । यसको मुख्य मुख्य उद्देश्य नै कामदार ठगी हुनबाट जोगिनु रहेको सविच घिमिरे बताउनुहुन्छ ।

दुई मुलुकवीच भएको समझदारीले नेपाली कामदाहरुले जापानी नागरिक सरह नै सेवा सुविधा पाउने सुनिश्चित पनि गरेको छ । तर त्यसका लागि नेपाली कामदारले जापानी भाषा र सीप परीक्षा अनिवार्य रुपमा पास भने गर्नुपर्नेछ । दक्ष जनशक्ति उत्पादनका लागि सरकारले प्रर्याप्त ध्यान पुर्‍याउने श्रम मन्त्री गोकर्ण विष्टले बताउनुभयो । 

सरकारी पहलमै वैदेशिक रोजगारी खुल्ला गर्ने जपान तेस्रो मुलुक बनेको छ । यसअघि दक्षिण कोरिया र इजरायलमा सरकारी तवरबाटै कामदार पठाउने गरिएको छ । दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया सफल भएपनि इजरायलमा भने प्रभावकारी हुन सकेको छैन । विद्यार्थीका साथै श्रमिकका लागि पनि रोजाइमा पर्ने गरेको जापानसँगको श्रम सम्झौता कार्यान्वयन भयो भने मुलुकको विप्रेशण आप्रवाहका लागि महत्वपुर्ण हुने अपेक्षा गरिएको छ ।