आर्थिक

कृषि मन्त्रालयसँग विषादी परीक्षण गर्ने क्षमता नै छैन : मन्त्री यादव

- सुरज राजथलाकाठमाडौं

भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण स्थगनको विषयलाई लिएर सरकारका दुई मन्त्रालयबीच विवाद देखिएको छ । 

दुई मन्त्रालयबीच समन्वय अभावमा विषादी परीक्षण स्थगनको विषयलाई लिएर कृषि तथा पशुपन्छी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्क्री चत्रपाणी खनालले भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षणका लागि पर्याप्त प्रयोगशाला रहेको दाबी गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग यसको क्षमता नभएको बताउनु भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री यादवले कृषि मन्त्रालयसँग विषादी परीक्षणका लागि आवश्यक उपकरण र प्रविधि नै नभएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो कमजोरी के हो भने, कृषि मन्त्रालयसँग त्यो क्षमता छैन भनेमलाई मलाई थाहा भएन । मन्त्री ज्यूले के जवाफ दिनु भयो त्यो पनि थाहा भएन । उहाँकैबाट के सुझाव आएको छ भने, हाल नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रमाण पत्र जारी गर्ने केन्द्रीय तहमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मात्र अर्न्ताष्ट्रिय स्तरको मान्यता प्राप्त प्रयोगशाला रहेको । अरु स्थानमा नरहेको । काठमाडौंमा मात्र रहेको उहाँले किटान गर्दै कृषि सचिवले पठाउनु भएको पत्रमा छ ।’ 

नयाँ प्रयोगशाला स्थापना नभए सम्मका लागि मात्र पूर्व अवस्थामा गएको भन्दै उहाँले  क्वारेन्टाइन परीक्षणको काम भने बन्द नभएको सदनलाई जानकारी गराउनुभयो । 

कृषि मन्त्रालय अन्तर्गत विषादी तथा क्वारेन्टाइन परीक्षण ल्याब ७ वटा भएपनि ती प्रयोगमा छैनन् । तर, पूर्वाधारको अभाव देखाउँदै सरकारले विषादी परीक्षण तत्कालका लागि स्थगित गरेको थियो । 

सरकारसँग उपलब्ध प्रयोगशाला पनि आवश्यक कर्मचारी बिना प्रयोग बिहीन अवस्थामा छन् ।

आयात–निर्यातमा मुख्य भूमिका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो । आयातीत वस्तुको क्वारेन्टाइन तथा विषादी परीक्षण गर्ने दायित्व कृषि तथा पशुपन्छी विकास मन्त्रालयको हो । 

यी दुई मन्त्रालयबीच समन्वय नहुँदा सरकार पछि हट्नुपरेको जानकारहरु बताउँछन् । वाणिज्यको प्रस्तावमा तरकारी तथा फलफूल परीक्षण सुरु गरेको सरकारले उसकै प्रस्तावमा स्थगन गरेको छ ।

राष्ट्रिय सभाको हिजोको बैठकमा कृषिमन्त्री खनालले फलफूल तथा तरकारीको विषादी परीक्षणका लागि वाणिज्यबाट गएको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएर राजपत्रमा सूचना प्रकाशित भएको मितिदेखि परीक्षण सुरु गरेको बताउनु भएको थियो । 

अहिले फेरि वाणिज्यले पूर्वाधार नभएको कारण देखाउँदै परीक्षण स्थगनको प्रस्ताव ल्याएको र मन्त्रिपरिषद्बाट पारित भएका कारण रोक्नु परेको बताउनु भएको थियो ।

संसदको हिजोको बैठकमा कृषि मन्त्री खनालले भने विषादी परीक्षणका लागि सरकारसँग पर्याप्त प्रयोगशाला रहेको बताउनु भएको थियो । 

भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग मात्र अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला रहेको भन्ने पत्र कृषि मन्त्रालयबाट प्राप्त भएको मन्त्री यादवले राष्ट्रिय सभामा जानकारी गराउनुभयो । 

क्वारेन्टाइन जाँच नै गर्न नहुने भन्नेमा आफू नरहेको भन्दै मन्त्री यादवले राम्रो काम गर्दा समेत आलोचित हुनु परेको गुनासो गर्नुभयो ।