सल्यानमा पनि देखियो सलह
- सल्यानसल्यानमा पनि सलह कीराको झुण्ड भेटिएको छ । साना साना झुण्डमा भित्रिएका सलह कीरा जिल्लाका शारदा नगरपालिका, बाग्चौर नगरपालिका तथा कपुरकोट, छत्रेस्वरी, त्रिवेणी गाउँपालिकामा देखिएका छन् ।
साना भुण्डमा देखिएका सलह कीराले मकै, तरकारी बाली खान थालेपछि किसानलाई बाली बचाउन हम्मेहम्मे परेको छ । मकै, तरकारी लगायत वर्षेबाली बचाउन किसानहरुले बाली लगाएको ठाँउमा आगो लगाएका छन् भने कतै थाल, टिन बजाएर धपाउने प्रयास गरिरहेका छन् । कतै समोतेर प्लाष्टिकको भाडोमा जम्मा गरी मार्दै आएका छन् ।
छत्रेस्वरी गाउँपालिकाको दहखोला, झिम्पेमा सबैभन्दा बढी देखिएका किसान वीरबहादुर बस्नेतले बताए । सलहबाट बाली बचाउन मकै लगाएको जग्गाको चारैतिर आगो बालेर टिन बजाउने गरेको उनले बताए । उनका अनुसार आगो बालेर र टिन ठटाउँदा पनि सलह नभागेकाले समातेर प्लाष्टिकमा जम्मा गर्ने गरिएको छ ।
मंगलबारदेखि मात्र देखिएको सलह कीराले मकैबालीमा बढी क्षति पुर्याएको झिम्पेका किसान देवबहादुर रोकाले बताए । सलहबाट बाली बचाउन उनले सम्बन्धित निकायसँग आग्रह गरे ।
‘जेठको दोस्रो सातामा अमेरिकन फौजी कीराले क्षति पुर्यायो । त्यसपछि फेद कटुवाले, अहिले सलहले क्षति सखाप पार्न थालेको छ’ उनले भने ‘दुई पटक लगाएको मकै कीराले नष्ट गरेपछि तेस्रोपटक लगाएको थिएँ । सलहले पहिला जस्तै अवस्थामा पुर्याउन थालेको छ । बाली कसरी बचाउने भन्ने चिन्ता लाग्न थालेको छ ।’
सलहले मकै बाली सखाप बनाए पुन: लगाउने बीउ नभएको उनको दुखेसो छ । रोग र कीराले गर्दा मकै बाली उत्पादनमा धेरै गिरावट आउने र खाद्यान्न अभाव हुने सम्भावना देखिएको उनको गुनासो छ ।
मंगलबार भित्रिएको सलह कीरा मकै बालीमा छपक्कै बसेको र बाली बचाउन कठिनाई भएको कपुरकोटका किसान रेशम बोहराले बताए । साना झुन्डमा आएकाले भर्खरै मकै र तरकारी खान थालेकाले समाउँदै प्लाष्टिकको बट्टामा राखेर मारेको उनले जानकारी गराए । उनका अनुसार सलहबाट बाली बचाउन हम्मेहम्मे परेकाले कपुरकोटका सबै किसानहरु बाली बचाउने उपाय खोज्नमा लागेका छन् ।
कृषि विकास कार्यालय सल्यानका सूचना अधिकृत रेसम बहादुर बस्नेतले जिल्लाका धेरै ठाँउमा सलह भित्रिएको जानकारी आएपनि क्षतिको विवरण भने आईनसकेको बताउनुभयो । सलहबाट बाली बचाउन विषादी समेत प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।